समाज

पुरानो हटाउँदै आधुनिक शौचालय विस्तार हुँदै

इकागज |
साउन २२, २०७९ आइतबार १२:२९ बजे

काठमाडौँ- काठमाडौं महानगरपालिका-२० मा अत्याधुनिक शौचालय निर्माण भएको छ । वडा नं २० र एरोसान सस्टेनेवल स्यानिटेशनको सहकार्यमा परोपकारमा २५ वर्ष पुरानो तथा जीर्ण सार्वजनिक शौचालयलाई अपाङ्ग मैत्री, वातावरण मैत्री, महिला मैत्रीको रुपमा पुनः निर्माण भएको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरभित्र सार्वजनिक शौचालयको आवश्यक रहेको औंल्याए । शौचालयमा प्रयोग भएका वातावरण मैत्री प्रविधिका बारेमा विशेष चासो देखाउँदै शौचालय व्यवस्थित र महानगरपालिका भित्र थप यस्ता शौचालयहरू निर्माण गर्नुपर्ने उनले धारणा राखे ।


शौचालयमा प्रयोग भएको आकाशे पानी संकलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको शाहले जानकारी दिए । शौचालयलाई सिकाई केन्द्रको रुपमा विकास गर्न सकिने उनले बताए ।

सन् २०२० देखि काठमाडौं र ललितपुर महानगरपालिका भित्रका विभिन्न स्थानहरूमा स्वच्छ, महिला मैत्री, अपाङ्ग मैत्री, वातावरण मैत्री अत्याधुनिक तथा समुदायमा आधारित शौचालयको सुविधा दिदै आएको एरोसानद्वारा निर्मित तथा संचालित शौचालयले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रविधि प्रवद्र्धन पुरस्कार २०७८ जित्न सफल भएको थियो भने विश्व स्तरीय सरफाती सेनिटेशन प्रतियोगितामा उत्कृष्ट ५ सम्म पुग्न सफल भएको थियो ।

वडा नम्बर २० का अध्यक्ष राजेन्द्र मानन्धरले वडाको विकास र सम्बृद्धिका लागि आवश्यक कार्यहरू वडाले गर्दै आएको बताए । २५ वर्ष पुरानो जीर्ण र अव्यवस्थित सार्वजनिक शौचालयको पुनः निर्माणलाई मध्यनजर गरि यस शौचालयको पुनः निर्माण कार्य गरेको उनले दाबी गरे ।

'वडाबासीको सहजताका साथै दैनिक यस क्षेत्रबाट आवत जावत गर्ने मानिसहरूलाई सुविधा सम्पन्न शौचालयको सुविधा दिनु महानगरको दायित्व हो भने आगामी दिनमा आवश्यकता अनुरुप शौचालय निर्माण व्यवस्थापन तथा पुनः निर्माणका कार्यलाई महानगरले प्राथमिकता दिनेछ,' मानन्धरले भने ।

एरोसान सस्टेनेबलले सन् २०२० देखि २०२२ सम्ममा महानगरपालिकामा ४ वटा र ललितपुर महानगरपालिकामा २ वटा गरि जम्मा ६ वटा अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । ५,९१,२६९ पुरुष र १,८०,५३६ महिलाले सार्वजनिक शौचालयको प्रयोग गरेका छन् ।

शौचालयबाट दिसा पिसावजन्य फोहोर व्यवस्थापनका लागि बायो ग्याँस प्रविधिको जडान गरि हाल सम्म ७०,६९९ लिटर पिशाव र ९,५७९ किलो दिसा व्यवस्थापन गरि ७०५.२ लि. वायो ग्याँस अर्थात ४९.४ सिलिन्डर एल.पि.जि. ग्याँस उत्पादन गरिसकेको छ भने फोहोर पानी प्रशोधन प्रणाली मार्फत ३,६०,००० लिटर फोहोर पानी प्रशोधन र आकाशे पानी संकलन प्रविधिको प्रयोग वाट २७,४०,१६० लिटर आकाशे पानीको संकलन गरि शौचालयमा प्रयोग गरिएको छ ।

 ‘एरोसानद्वारा निर्मित तथा संचालित शौचालयमा दैनिक १००० लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता भएको फोहोर पानी प्रशोधन प्रविधि प्रयोग गरिएको एरोशानका कार्यकारी प्रमुख प्रकाश अमात्यले जानकारी दिए । 'मानव मल मुत्रलाई शौचालयमै व्यवस्थापन गरि बायोग्यास उत्पादन गर्न १० घन मिटरको बायो ग्याँस प्लान्ट शौचालय परिसरमै निर्माण गरि वातावरण मैत्री बनाउन अहम भुमिका खेलेको छ,' उनले भने

महानगरका प्रवक्ता नविन मानन्धर तथा वडा नं. १७ अध्यक्ष र ईश्वर मान डंगोल, वडा नं. १५ का , वडा नं. १५ का अध्यक्षका साथै वातावरण विभाग प्रमुख सरिता राईको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x