भारतीय नागरिकविरुध्द २ अर्ब ३९ करोडको मुद्दा
सोनी गोल्ड एण्ड सिल्भर प्रालिका प्रोपाइटर भारतीय नागरिक सुनील सोनी
काठमाडौं : राजस्व अनुसन्धान विभागले रुपन्देही सिद्धार्थनगर-१२ मा सोनी गोल्ड एण्ड सिल्भर प्रालिका सञ्चालक भारतीय नागरिक सुनील सोनी विरुद्ध राजस्व छलीको मुद्दा दायर गरेको छ । सुनील सुनारको नामबाट नेपाली नागरिकता समेत लिएका उनी सुन चाँदीको अवैधा आयात-निर्यातमा संलग्न भएको पाइएको थियो ।
विस्तृत अनुसन्धानपछि राजस्व अनुसन्धान विभागले सोनी र उनका सहयोगी अमित परियारविरुद्ध २ अर्ब ३९ करोड ५५ लाख नौ सय ४३ रुपैँया विगो दाबी गर्दै उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको हो । सोनी गोल्ड ज्वेलर्सका प्रोपाइटर सोनीलाई राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले विशेष सूचनाका आधारमा बुटवल उपमहानगरपालिका-११ स्थित चौराहबाट भारतीय नागरिक सोनीको कारभित्र बोरामा लुकाइ राखेको नगद र उनको मोबाइल सहित असार ३० मा पक्राउ गरिएको थियो ।
उक्त वस्तुहरु जफत गरी विभाले विस्तृत अनुसन्धान अघि बढाएको थियो । विस्तृत अनुसन्धान सुरु भएको ९० दिन भित्र अनुसन्धान सम्पन्न गरी मुद्दा दायर गर्नुपर्ने कानुनी प्रावधान रहेकाले विद्यमान महामारीको चुनौतीबीच निकै दबाबमा अनुसन्धान सम्पन्न गरी मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । विभागले दायर गरेका मुद्दाहरुमध्ये ठूलो राजस्व छलीको यो एउटा प्रमुख मुद्दा हो ।
मोबाइलका माध्यमबाट विभिन्न व्यक्तिहरुसँग कारोबार गर्ने गरेको, कारोबार स्थलबाट बरामद गरिएका बैंक दाखिला भौचर र बैंक स्टेटमेन्ट साथै मोबाइलमा प्राप्त बैंक भौचारका आधारमा विभिन्न व्यक्तिलाई भुक्तानी दिएको भेटिएको थियो ।
सोनीले बैंक र भन्सार बिन्दुबाहेक अन्य अवैध बाटोबाट सुन चाँदी आयात गर्ने र सोबाट प्राप्त रकम नेपाली तथा विदेशी मुद्रामा परिणत गरी विभिन्न व्यक्तिसँग भुक्तानी लिने र दिने गरेको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानका आधारमा सोनी र उनका मतियार सिद्धार्थनगर नगरपालिका-६ का अमित परियारलाई समेत मुद्दा दायर गरिएको हो ।
सोनीलाई भन्सार चोरी निकासी पैठारीतर्फ २ अर्ब २३ करोड १३ लाख र आयकरतर्फ १६ करोड ४१ लाख राजस्व चुहावट गरेको अभियोग छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया