एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा
लमजुङ- जिल्ला अस्पताल लमजुङमा प्रसूति गराउन आउनेमध्ये १४ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ । जिल्ला अस्पतालमा ०७८/७९ मा एक हजार एक सय ६६ जना महिला आमा बनेका छन् । जसमध्ये एक सय ५५ जना किशोरी छन् ।
१४ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेको अस्पतालको रेकर्डमा भेटिएको छ । बिहाबारी २० वर्षपारि भन्ने अभियान चलाइए पनि यसले सार्थकता पाउन सकेको छैन ।
सानै उमेरमा आमा बन्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिन सक्ने अस्पतालका प्रमुख हेमन्त श्रेष्ठको भनाइ छ । उनले भने, ‘कम उमेरका आमालाई धेरै रगत बग्ने, सुन्निने, दीर्घकालमा पाठेघर खस्ने, पिसाब चुहिने समस्या हुन सक्छ ।’ जिल्ला अस्पताल लमजुङमा ०७७/७८ मा एक हजार एक सय ७१ जना महिला आमा बनेका छन् ।
जसमध्ये एक सय ५४ जना किशोरी अर्थात् १३ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेको अस्पतालको रेकर्डमा भेटिएको छ । त्यस्तै, आ.व ०७६/७७ मा एक हजार एक सय २३ जना महिला आमा बनेका छन् । जसमध्ये एक सय ७१ जना महिला २० वर्षमुनिका रहेको अस्पतालले जनाएको छ ।
सानै उमेरमा विवाह गर्दा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा पाउँदापाउँदै पनि सामाजिक सञ्जालको विकृति, गरिबी, देखासिकीलगायत कारणले बालविवाह कम हुन नसकेको अस्पतालका प्रसूति इन्चार्ज राममाया ठकुरी बताउँछिन् ।
ग्रामीण क्षेत्रमा मात्र नभई शिक्षित र सहरी क्षेत्रमा समेत २० वर्ष नपुग्दै बच्चा जन्माउनेको संख्या बढेको पाइएको छ । २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका किशोरीको विवाह भने १५ देखि १८ वर्षमा भएको जिल्ला अस्पताल लमजुङको अनुमान छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया