मकवानपुरमा नदीजन्य ढुंगा, गिट्टी र बालुवा उत्खनन् धमाधम
हेटौंडाः चालु आर्थिक वर्षमा नदीजन्य पदार्थ ढुंगा, गिट्टी बालुवा उत्खनन् गर्न मकवानपुर जिल्ला प्रशासन कार्यालयले सहज बनाइदिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालको नेतृत्वमा बसको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले विपद्को नाममा नदीजन्य ढुंगा, गिट्टी तथा बालुवा उत्खनन् गर्न स्थानीय तहलाई स्वीकृती दिएको हो । त्यसपछि अहिले त्यहाँका खोला र नदीहरूमा धमाधम उत्खनन् कार्य भइरहेको छ ।
जिल्लाका सात स्थानीय तहहरूले खोला क्षेत्रमा थुप्रिएको ढुंगा, गिट्टी तथा बालुवाले गर्दा बस्ती, बाँध, पुल उच्च, मध्यम तथा सामान्य जोखिम भएको भन्दै उत्खनन् गर्न जिल्ला विपद् व्यवस्थापन समितिमा निवेदन दिएका थिए । बैठकले निवदेन दिएको स्थानहरूको अध्ययन गर्दै मनसुनअघि खोलामा थुप्रिएको नदीजन्य पदार्थको व्यवस्थापन गर्न एक घनमिटर फरक नपर्ने गरी स्वीकृति दिएको हो ।
उत्खनन नगरे बस्ती डुबान तथा कटानको समस्या आउने भन्दै स्थानीय तहलाई व्यवस्थापन गर्न प्रशासनले स्वीकृति दिएको हो । विपदको जोखिम भएका हेटौंडा उप–महानगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बकैयाँ गाउँपालिका, भीमफेदी गाउँपालिका र इन्द्रसरोबर गाउँपालिकामा १५ दिनसम्म उत्खनन् गर्न स्वीकृति दिइएको प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए । त्यो समय मंगलबारसम्म मात्रै रहेको उनले बताए ।
उनका अनुसार उप–महानगर क्षेत्रकोे दुई स्थान उच्च जोखिम क्षेत्रभित्र पर्छन् भने तीन मध्यम र तीन सामान्य स्थानमा पर्छन् । ती स्थानहरूबाट १ लाख ७३ हजार ३ सय २ दशमलब ५ घनमिटर नदीजन्य पदार्थ ढुंगा, गिट्टी बालुवा उत्खनन् गर्न हेटौंडा उपमहानगरले माग गरेको थियो ।
कैलाश गाउँपालिकाको दुई स्थानमा मध्यम स्तरको जोखिम देखिएको भन्दै नदी उत्खनन्को लागि १ लाख ३३ हजार २ सय १९ दशमलब २१ घनमिटर, राक्सिराङले १ लाख २ हजार ६ सय २५ घनमिटर उत्खननको स्वीकृति पाएको छ ।
मकवानपुरगढीको एक उच्च जोखिम, दुई मध्यम र दुई सामान्य जोखिम भएका स्थान देखिएकाले १ लाख २५ हजार २ सय घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न स्वीकृति दिइएको छ । बकैया गाउँपालिकाले एक स्थान उच्च जोखिम, एक मध्यम र एक स्थान सामान्य जोखिम भएको भन्दै ५८ हजार ६७ दशमलब ३ घनमिटर खोला उत्खनन गर्न स्वीकृति पाएको छ ।
भीमफेदीको एक स्थान उच्च र एक मध्यम जोखिम भएको भन्दै ३४ हजार ४ सय घनमिटर उत्खनन् गर्न र इन्द्रसरोबर गाउँपालिकाको सुकौरा खोलाको खानीखोला क्षेत्रमा मध्यम विपद्को जोखिम देखिएकोले ४४ हजार १ सय ६९ दशमलब ३८ घनमिटर नदीजन्य पदार्थ उत्खनन् गरी विक्रि गर्न प्रशासनले स्वीकृति दिएको प्रमुख प्रशासकिय अधिकृत गर्तौलाले बताए ।
जिल्लाका १० मध्ये ७ स्थानीय तहले विपद्को जोखिम भन्दै ढुंगा, गिट्टी तथा बालुवाको उत्खनन् गरिरहेका छन् । उनीहरूले तोकिएको क्षेत्रमै नदी उत्खनन् सुरु गरेपनि तोकेको घनमिटर भन्दा बढीनै उत्खनन् गर्ने भन्दै आफूहरूले अनुगमन गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत गर्तौलाले बताए । ‘अनुगमनले केही हदसम्म चोरी निकासी रोक्न सकिएको छ । तर तोकिएको भन्दा अलि बढी त उत्खनन् हुँने नै भयो । यसलाई केही हदसम्म न्युनिकरण गर्न भने सकिएको छ,’ उनले भने ।
नदीजन्य पदार्थको अनुगमन गर्न नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति पनि सक्रिय भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजनामा रहने समितिले मकवानपुरगढी र राक्सिराङको अनुगमन गरेको छ । उत्खनन् गर्दा बदमाशी भने हुने गरेको जिसस प्रमुख खुलालले बताए ।
विपद्को हिसाबले जोखिम भएका स्थानहरूबाट नदी उत्खनन् भइरहेको उनले बताए । यसले गर्दा विकास निर्माणका कामहरूमा निर्माण सामग्रीको सहज उपलब्धता भएको छ । खोला उत्खनन् भएपछि बगरमा खाल्डाखुल्डीहरू धेरै बनेका छन् । त्यस्ता खाल्डाखुल्डीहरू भने सबै पुरिने प्रमुख प्रशासकीय अधिकृत गर्तौलाले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया