समाज

सुन-चाँदी व्यवसायीको हत्या आशंकमा २ पक्राउ

इकागज |
चैत ३०, २०७७ सोमवार १८:३५ बजे

काठमाडौैँ : अपरिचित समूहको गोली तथा धारिलो हतियार प्रहारबाट लहानमा सुन- चाँदी व्यवसायीको मृत्यु भएको छ । प्रहरीका अनुसार, लहान नगरपालिका- २३ गाढिया चोकमा सुन चाँदी पसल संचालन गर्दै आएका सोही नगरपालिका- २२ सिसवनीका ४५ वर्षीय प्रदिप मिझारको आइतबार बिहान मृत्यु भएको हो ।

अपरिचित व्यक्तिको ६/७ जनाको समूह सुन- चाँदी पसल गरी बसेको घरको ढोका फलामको हम्मर र छिनोले फोडी चोरी तथा लुटपाट गर्न गएको थियो । उक्त समूहसँग प्रतिकार गर्दा उनीहरुले मिझारलाई गोली प्रहार गरेका थिए । मिझारकै श्रीमती ३५ वर्षीया अनिता कुमारी दुलाललाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । 
प्रहरीका अनुसार, उक्त लुटाहा समूहले ३ तोला सुन, ७ केजी चाँदी, महिलाले खुट्टामा लगाउने दुई जोर ६० तोला चाँदीको काडा र नगद २ लाख ५० हजार रुपैयाँ लुटपाट गरी फरार भएका छन् । घटनामा गम्भीर घाइते भएका प्रदिपको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । साथै घाइते अनिताको सोही अस्पतालमा उपचार भइरहेको छ ।


घटनाको खबर प्राप्त हुनासाथ प्रहरीले घटनामा संलग्न लहान नगरपालिका- ७ बस्ने २६ वर्षीय रामकृष्ण चौधरीलाई घटनास्थलबाट भाग्दै गरेको अवस्थामा १ थान फलामको छिनोसहित र सोही नगरपालिका- २३ गढिया बस्ने २९ वर्षीय सूर्य सहनीलाई समेत पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहा समेतबाट खटिएको प्रहरीले घटना संलग्न फरार अन्य व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 


Author

थप समाचार
x