समाज

लमजुङका पहिरो पीडितले दसैँमा नयाँ घर पाउने

इकागज |
भदौ ७, २०७९ मंगलबार १४:३६ बजे

लमजुङ - बाढीपहिरो पीडितले आगामी दसैँमा नयाँ घर पाउने भएका छन् । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ अर्खलेगाउँका पहिरोपीडितका लागि निजी आवास निर्माणकार्य आगामी दसैँ अगावै सम्पन्न हुने भएकाले दसैँबाट नयाँ घरमा बस्न पाउने भएका हुन् । 

दुई वर्ष अघिदेखि विस्थापित यहाँका १८ घरपरिवार हालसम्म कोही आफन्तको सहारा र कोही त्रिपाल एवं जस्तापातामुनि कष्टकर जीवन बिताउँदै आएका छन् । गाउँपालिकाका अनुसार अर्खलेबेँसी र अर्खलेबेँसी पारि मस्र्याङ्दी गाउँपालिका– ६ को लाम्पाटाबगरमा घर निर्माण भइरहेको छ । 


गाउँका १८ घरलाई स्थानान्तरणका लागि घर निर्माण भइरहेको र निर्माणकार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । उक्त पीडितमध्ये लाम्पाटा बगरमा ११, अर्खलेबेँसीमा छ घर निर्माणाधीन छन् । 

त्यस्तै, एक घर बाहुनडाँडामा बन्ने चरणमा रहेको गाउँपालिकाले जनाएको छ । पहिरोले गाउँ नै जोखिममा परेपछि स्थानान्तरणका लागि नयाँ घरमा निर्माण तीव्र गतिमा अघि बढिरहेको र दसैँमा नयाँ घरमा उनीहरु बस्न पाउने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ ।

 प्रतिपरिवारका लागि रु सात लाखको लागतमा घर निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार यसमा संघ सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको ३० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत बजेट रहेको छ । उक्त रकममध्ये जग्गा खरिदका लागि रु तीन लाख र घर बनाउन साढे चार लाख बजेटको व्यवस्था छ । विसं २०७७ मा अर्खले गाउँमा पहिरो आएपछि सिङ्गो गाउँ नै विस्थापित भएको थियो । 

सो पहिराले जोखिम बढाउँदै आएपछि विसं २०७५ मा घरमा नबस्न वडा कार्यालयले अनुरोधसमेत गरेको थियो । तर उनीहरुले पहिरोको बेवास्ता गर्दै आएपछि विसं २०७७ मा गएको पहिरोले गाउँ नै विस्थापित बनाएको थियो । घर नुहँदा कष्टकर जीवन बिताउँदै आएका उनीहरुले यसपालिकाको दसैँमा नयाँ घर पाउने भएसँगै हर्षित भएका छन् । 
रासस


Author

थप समाचार
x