समाज

अधैर्य टिनएजर जो सेकेन्डमै गम्भीर निर्णय लिन्छन् (भिडिओ)

सृजना खड्का |
भदौ ८, २०७९ बुधबार ७:४० बजे

दुई युवती । उनीहरूले भोगेको किशोरावस्था । जुन अरुले भोग्न नपरोस् भनेर चालेको कदम– गुलाबी संवाद (अ टिनएज टक) । उनीहरू प्युठानकी सबिता आचार्य र चितवनकी करुणा देवकोटा हुन् । जसको काम किशोरकिशोरीलाई पढ्नु, सुन्‍नु अनि बुझ्नु हो । स्कुलले नसुनेका, अभिभावकले नबुझेका किशोरकिशोरीलाई सबिता र करुणा सुन्छन्, बुझ्छन् । उनीहरूबारे पडकास्ट बनाउँछन् अनि बजाउँछन् ।

सबिताको किशोरावस्था कष्टकर थियो । अन्योल र अलमलमा थिइन्, उनी । शारीरिक परिवर्तनदेखि लाज लाग्थ्यो । त्यसमाथि अरुले नानाभाँती भनेर जिस्काउँथे । ‘आफन्तहरूले यिनको छातीमा बेलौती फलेछ भनेर चिमोट्थे,’ उनले सुनाइन्, ‘अहिले बुझेँ, त्यो बेला ममाथि त दुर्व्यवहार पो भएको रहेछ ।’


पहिलो पटक महिनावारी हुँदा घरमा उनले कसैलाई भनिनन् । दोस्रो दिन धेरै नै रगत बगेपछि आमालाई भनिन् । महिनावारी हुँदा बार्नुपर्ने थुप्रै नियम उनीमाथि तेर्सिए । लुकेर बस्नुपर्ने, परिवारका पुरुष सदस्यलाई देख्न नहुने, घाम हेर्न नहुने । लुकेरै सही उनले आफूमाथि थोपरिएका थुप्रै नियम तोडिन् । बुवा, दाइ र घाम सबैलाई झ्यालबाटै चियाएर हेरिन् ।  

त्यसो त आफ्नो किशोरकालमा करुणा पनि कम थिइनन् । पहिलोपटक महिनावारी हुँदा उनलाई आफन्तकोमा लगेर राखियो । जाडो महिना थियो । उनले न घाम ताप्न पाइन्, न घरका पुरुष सदस्यलाई हेर्न । महिनावारी लाजको विषय थियो ।  स्कुलमा शिक्षकहरूले पनि खुलेर पढाउँदैनथे । पढाए पनि सबैजना टाउको निहुराएर बस्थे । करुणा भने जिज्ञासु स्वभावकी थिइन् । प्रश्न गरिरहन्थिन् । प्रायः प्रश्नको जवाफ उनले कहिल्यै पाइनन् । त्यसपछि आफैँ प्रयोग गर्नतिर लागिन् । छुन हुँदैन भनेको ठाउँ छुन थालिन्, जान हुँदैन भनेको ठाउँ जान थालिन् । 

बिस्तारै थाहा भयो यो सबै त अन्धविश्वास पो रहेछ । आफूले बुझेका कुरा अरुलाई बुझाउने हुटहुटी उनमा जाग्यो । जसको सुरुवात उनले आफ्नै घरबाट गरिन् । परिवारलाई सम्झाइन् । महिनावारी भए पनि चाडपर्वमा टिका लगाउन थालिन् । भान्सामा छिर्न लागिन् । आफूले चालेको स–सानो कदमले त्यति ठूलो परिवर्तन ल्याउला भन्‍ने उनले सोचेकी थिइनन् । 

अनि सुरु भयो दुईको दोस्ती...
सबिता र करुणाको भेट पाँच वर्षअघि भयो । त्यतिबेला सबिता रेडियो कार्यक्रम ‘साथीसँग मनका कुरा’मा काम गर्थिन् । आवेदन खुलेर करुणा अन्तर्वार्ताका लागि गएकी थिइन् । पछि उनीहरू सँगै काम गर्न थाले परिवारको सदस्यजस्तै भएर । ‘साथीसँग मनका कुरा’मा सबिताले साढे नौ वर्ष अनुभव बटुलिन् । करुणाले तीन वर्षपछि जागिरे जीवन त्यागिन् । त्यहाँ उनीहरू दुबैले किशोरकिशोरीका सवालमा केन्द्रित भएर काम गरे । उनीहरूका मुद्दा बोकेर देशका कुनाकन्दरा घुमे । गाउँदेखि सहरसम्मका किशोरकिशोरीका नाडी छाम्ने मौका उनीहरूले त्यही बेला पाए ।

सबिताले बाल विकास र करुणाले पत्रकारितामा स्नातकोत्तर गरेका छन् । स्नातकोत्तर गर्दैदेखि उनीहरू आफैँ केही गर्न चाहन्थे । कोभिड–१९ महामारी त्यति नै बेला सुरु भयो । अफिसबाट महिना बित्नेबित्तिकै खुरुखुरु तलब आइरहेको थियो । तर, नयाँ कदमका लागि उनीहरूले आफ्नै बाटो हिँड्ने जोखिम मोले । उनीहरू आफैँ यौन तथा प्रजननका दक्ष व्यक्ति थिएनन्, होइनन् । उनीहरू आफूलाई किशोरकिशोरी विज्ञ पनि मान्दैनन् । तैपनि, उनीहरूको बाटो यतातिर मोडिनुको पछाडि कारण छ । समाज थुप्रै विषय छन् र पनि उनीहरूलाई सबैभन्दा बढी किशोरकिशोरीले नै छुन्छ ।

किनभने, त्यो अवस्था उनीहरूले पनि पार गरे । जानीनजानी थुप्रै दुर्व्यवहार भोगे । ती घटना कहिले साथीभाइसँग खेल्न जाँदा हुन्थ्यो, कहिले घरमै परिवारका सदस्यबाट । दुर्व्यवहार भएका कुरा उनीहरू कसैलाई भन्‍न सक्दैनथे । भन्यो भने गल्ती गर्नेले सजाय पाउनुको साटो आफैँले गाली खाने डर हुन्थ्यो । त्यही भोगाइ अहिलेको पुस्तामा सय जनामा दश जनाले मात्रै भोग्नु परेन भने पनि उनीहरू त्यसलाई आफ्नो ठूलो उपलब्धि मान्छन् । 

‘गुलाबी संवाद’ यात्रा 
गुलाबी संवादमार्फत उनीहरू यौन, प्रजनन र मानसिक स्वास्थ्य आदि विषयमा १५ मिनेटको कार्यक्रम बजाउँछन् । ‘१५ सेकेन्डको टिकटक भिडियो नै दुई–तीन सेकेन्डमा स्क्रोल गर्ने जमाना आइसक्यो,’ करुणाले भनिन्, ‘यस्तो बेला कसैलाई १५ मिनेट बाँधेर राख्न निकै चुनौती छ । तैपनि, हामी ९० एपिसोड नजिक पुगिसकेका छौँ ।’

पडकास्टको माध्यमबाट मात्र प्रसारण भएको गुलाबी संवाद अहिले नेपालका ४० भन्दा बढी रेडियोबाट प्रसारण हुन्छ । कतिपय रेडियोलाई उनीहरूले नै बजाइदिनुपर्‍यो भनेर अनुरोध गरेका थिए । कतिपयले आफैँ फोन गरेर बजाउन अनुमति मागेका थिए । आफूले फैलाउन चाहेको सन्देश उनीहरू पडकास्टसँगै देशभरका रेडियोबाट फैलाउन चाहन्छन् । एक जिल्ला बराबर एक रेडियोमा पुग्ने उनीहरूको लक्ष्य छ ।  किनभने, पडकास्ट गाउँठाउँमा अहिले पनि नौलो नै छ ।

आफूले दिन खोजको सन्देश धेरैसम्म पुगेकामा उनीहरू दंग छन् । उनीहरूलाई विश्वास गरेर अहिले धेरैले सन्देश पठाउँछन् । ब्लगका लागि विषयवस्तु पठाउँछन् । छोराछोरीले यौनको विषयमा देखाएको चासोदेखि आफू बलात्कारमा परेका घटनासम्म सबिता र करुणालाई इमेल र सामाजिक सञ्जालमा आउँछ । ‘एक जनाले १० वर्षअघि १० कक्षा पढ्दा बलात्कारमा परेको कुरा पनि हामीसँग सेयर गर्नुभएको थियो,’ सबिताले भनिन्, ‘बिस्तारै मानिसहरूले हामीलाई खोज्दैछन् । हामीलाई विश्वास गर्दैछन् ।’

पोस्ट बक्सदेखि इमेल र सामाजिक सञ्जालका म्यासेज बक्ससम्म
सबिताले नौ वर्षअघि ‘साथीसँग मनका कुरा’मा काम गर्दा किशोरकिशोरीले पोस्ट बक्स नम्बरबाट आफ्ना जिज्ञासा र सन्देश पठाउँथे । अहिले इमेल र सामाजिक सञ्जालको मेसेज बक्समा ती सामग्री आउँछन् । सबिताको अनुभवमा प्लेटफर्म फेरियो तर, किशोरकिशोरीले भोग्ने समस्या र उनीहरूका जिज्ञासा भने फेरिएको छैन । मानिसहरू यौन र प्रजननका विषयमा पहिला पनि खुम्चिन्थे, लजाउँथे । अहिले पनि अवस्था ज्यूँका त्यूँ छ । 

केही समयअघि सबिता जनचेतनाको कार्यक्रम बोकेर दैलेखको एउटा गाउँ गइन् । शिक्षकहरूसँग ‘विद्यार्थीसँग यौनका विषयमा कुरा गर्न आएको’ भनिन् ।  त्यहाँ उनी र शिक्षकहरूबीच भनाभन नै  भयो । ‘यस्तो विषयमा बोल्दै हिँड्न लाज लाग्दैन, परिवार छैनन्, बाआमा छैनन् भन्दै सबै सबैले गाली गरे,’ उनले भनिन्, ‘स्वास्थ्य शिक्षा पढाउने शिक्षकले समेत उनीहरूसँगै लागेर गाली गरे ।’

यौनसँग सम्बन्धित विषयमा कुरा नगर्ने सर्तमा उनलाई कक्षाकोठामा छिर्न दिइयो । ‘विद्यार्थीहरूको मनोविज्ञान बुझ्दा जुन विषयमा कुरा नगर्नू भनिएको थियो, उनीहरूलाई सबैभन्दा बढी त्यही विषयमा जान्‍न मन थियो,’ सबिताले भनिन्, ‘दुर्व्यवहार के हो ?, यौन के हो ?, बच्चा कसरी जन्मिन्छ ? उनीहरूका प्रश्न यस्तै–यस्तै थिए ।’

अहिलेका किशोरकिशोरीको सूचना स्रोत सामाजिक सञ्जाल भएको छ । हातहातमा स्मार्ट फोन छ । तर, उनीहरूले सही सूचना भने पाइरहेका छैनन् । चाहिने, नचाहिने सबै सामग्री लिइरहेका छन् । के सही, के गलत छुट्याउन सकिरहेका छैनन् । यो सबिता र करुणाको अनुभव हो । ‘सामाजिक सञ्जालको पहुँचले टिनएजरहरूले आफूलाई धेरै कुरा थाहा पाएको जस्तो गर्छन् तर, जान्‍नै पर्ने कतिपय कुरा उनीहरूलाई थाहै छैन,’ करुणाले भनिन्, ‘उनीहरूसँग यौन दुर्व्यवहारका विषयमा कुरा गर्‍यो भने केलाई दुर्व्यवहार भन्‍ने, केलाई नभन्‍ने फरकै छुट्याउन सक्दैनन् ।’

किशोरकिशोरीसँगै सबिता र करुणा अभिभावकहरूसँग पनि जोडिएका छन् । आफ्ना छोराछोरीलाई यौन तथा प्रजननको विषय सिकाउने हकमा उनीहरूले केही अभिभावक उदार र सचेत भेटेका छन् । केही सिकाउन मन भएका तर, आइडिया नभएका अभिभावक छन् । कसैको घरमा भने लाज र डरको कारण यौनको विषयमा खुलेर कुरा गर्ने वातावरण नै नभएको उनीहरूले पाएका छन् ।

परिणामस्वरूप अहिलेका किशोरकिशोरीमा उनीहरूले देखेको सबैभन्दा ठूलो समस्या ‘टिनएज प्रेग्नेन्सी’ हो । ‘रिलेसनमा बस्नेबित्तिकै शारीरिक सम्पर्क राखिहाल्नुपर्छ भन्‍ने धारणा उनीहरूमा विकास भएको छ,’ सबिताले सुनाइन्, ‘यति भएपछि मात्रै माया र विश्वास हुन्छ भन्‍ने सोच्छन् । उनीहरू यौन सम्पर्क राख्नुलाई माया र फेसबुकको पासवर्ड सेयर गर्नुलाई विश्वास मानिरहेका छन् । जसकारण थुप्रै समस्या निम्तिएको छ ।’

मानसिक स्वास्थ्यका कुरा
गत साउन २४ गते इटहरीकी श्रद्धा घिमिरेले आत्महत्या गरिन् । १२ कक्षा पढ्ने उनले सलको पासो लगाएर आत्महत्या गरेकी थिइन् । ब्वाइफ्रेन्डले धोका दिएको निहुँमा आत्महत्या गरेको हुन सक्ने उनका साथीसँगीको भनाइ थियो । यस्तो खबर सुन्दा सबिता र करुणालाई खल्लो लाग्छ । मन भारी हुन्छ । नयाँ पुस्ताले आफूलाई सम्मान, विश्वास र प्रेम गर्न छाडेकामा उनीहरू चिन्तित छन् । उनीहरू किशोरकिशोरीमा पटक्कै धैर्य देख्दैनन् । कुनै पनि निर्णय सेकेन्डको भरमा लिएको देखेर उनीहरू दुःखी हुन्छन् । समाजमा यस्ता घटना बढ्न थालेपछि उनीहरू यौन तथा प्रजनन सँगसँगै मानसिक स्वास्थ्यको विषयमा पनि कुरा गर्न थालेका छन् । किनभने, आफूमाथि भएका कुरा अरुसँग सेयर गर्न नसक्दा धेरै किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या आएको उनीहरूले पाएका छन् ।

यस्ता अप्रिय घटना पटक–पटक सुन्‍न नपरोस् भनेर ‘गुलाबी संवाद’मार्फत सबिता र करुणाले जनचेतना फैलाउन थालेको डेढ वर्ष भयो । यो बीचमा थुप्रै चुनौती आए । कमाइ शून्य रह्यो । तर, उनीहरूको प्राथमिकतामा कमाइभन्दा किशोरकिशोरी परे । ‘ढेड वर्षमा कमाएको पैसाको कुरा गर्ने हो भने महिनाको पाँच–पाँच सय पनि भागमा आउँदैन होला,’ सबिताले सुनाइन्, ‘तर, हामीले गरेको कामबाट जुनखालको प्रतिक्रिया आइरहेको छ त्यो नै हाम्रो कमाइ हो ।’

कार्यक्रम रेकर्डिङ गर्न उनीहरूको आफ्नै स्टुडियो छैन । रेकर्डिङका सामग्री पनि छैनन् । मदन भण्डारी कलेज गएर कार्यक्रम रेकर्ड गर्छन् । बाँकी एडिटिङ र मिक्सिङका काम पनि उनीहरू आफैँ मिलेर गर्छन् । किशोरकिशोरीको विषय भन्‍नेबित्तिकै पहिला उनीहरूको दिमागमा महिनावारी र दुर्व्यवहार मात्रै आउँथ्यो । सुरुवाती १८ एपिसोड उनीहरूले त्यहीअनुसार डिजाइन गरेका थिए । काम गर्दै जाँदा थुप्रै विषयवस्तु खोतलिँदै गए । 

उनीहरूले सोच्दै नसोचेका विषयहरू बाहिर आउन थाले । जसकारण के विषयमा कार्यक्रम बनाउने भन्‍ने चिन्ता यी दुईलाई कहिल्यै भएन हुँदैन । ‘यौन तथा प्रजनन एभरग्रिन टपिक हो,’ करुणाले भनिन्, ‘बच्चा जन्मिनु अघिदेखि मर्ने बेलासम्म यो विषयमा जान्‍नुपर्ने धेरै कुरा छन् । जस्तोसुकै परिस्थिति आए पनि यी कुरा सिक्ने÷सिकाउने काम हामी जारी राख्नेछौँ ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x