महानगरले आज दरबारमार्गको लन्डन पबसहित कहाँ-कहाँ लगाउँदैछ डोजर ?
काठमाडौँ- नक्साविपरीत निर्माण भएका भौतिक संरचना हटाउने कार्यलाई काठमाडौँ महानगरपालिकाले आज पनि निरन्तरता दिने भएको छ । महानगरले सडक क्षेत्र अतिक्रमण गरेर निर्माण भएका तथा नक्सा विपरीत निर्माण भएका संरचना हटाउने कार्य केही दिनदेखि सुरु गरिसकेको छ ।
शुक्रबार शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको कोटेश्वर ट्रष्ट कार्यालयको संरचना र नबिल बैंकको न्यूरोड शाखाको संरचना भत्काउने तयारी महानगरले गरेको छ । यसका लागि डाेजरसहित कर्मचारीहरूलाई तम्तयार रहन निर्देशन दिइएकाे छ ।
महानगरपालिकाले मंगलबारदेखि नक्सा पास विपरीत निर्माण भएका र नक्सा अनुरुप निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका संरचना हटाउन थालेको छ । नक्सापास नगरी निर्माण भएका र नक्सा अनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नगरिएका संरचना अवैध रहेको भन्दै भत्काउन थालिएको हो ।
उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैध संरचना, काठमाडौं मलका अवैध संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइएको छ ।
नक्सा अनुरुप निर्माण नभएका, निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण भएका संरचना अवैध ठहर गर्दै काठमाडौँ महानगरले भत्काउन थालेको हो । हाल बेसमेन्ट र भूमिगत पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको महानगरले जनाएकाे छ ।
संरचना निर्माणका सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजात अनुरुप गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अपनाइने छ । अवैध संरचना घरधनीलाई नै भत्काउन वा निर्माण गरिए अनुसार प्रयोग गर्न लगाउने भन्दै महानगरले ३५ दिने सूचना जारी गरेको थियो । सार्वजनिक सूचनाको बेवास्ता गरेपछि अवैध संरचना हटाउन थालिएको हो ।
यसबाट पार्किङको समस्या समाधानसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने महानगरकाे विश्वास छ । सूचना जारी गरेको ३५ दिन बितिसक्दा पनि सम्बन्धित निकाय छलफलमा नआएपछि अवैध महानगरले संरचना हटाउन थालेको हो । अवैध संरचना भत्काउँदा भाडावालालाई हुन गएको समस्या र क्षतिको विषयमा मालिकबाट क्षतिपूर्ति गराउनेतर्फ महानगरले पहल गर्ने जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया