समाज

जब किसानहरू काँधमा हलो, हातमा लाठी लिएर बालुवाटार घेर्न निस्किए...

कमल विष्ट |
भदौ १६, २०७९ बिहीबार १९:१३ बजे

मिटरब्याज पीडित किसानहरूले न्यायको माग गर्दै ‘बालुवाटार मार्च’ गरेका छन् । किसानहरूले आफूलाई भुमिहीन बनाउने मिटरब्याजी साहुविरुद्ध प्रदर्शन गर्दै काठमाडौंको माइतीघर मण्डलबाट बालुवाटारसम्म मार्च गरेका हुन् ।

साहुविरुद्ध आन्दोलन थालेको एक महिनासम्म पनि सरकारले आफ्ना मागलाई बेवास्ता गरेको भन्दै उनीहरूले बिहीबार बालुवाटार घेर्ने निधो गरे । बृहत् नागरिक समाज, प्रतिरोध समूहलगायतको साथ पाएका उनीहरूले दिउँसो २ बजे मार्च सुरु गरे । बाटाभरि सरकार र सुद्खोरविरुद्ध नारा लगाए । किसानको हात, छाती र निधारमा ‘हाम्रो जमिन फिर्ता गर’, ‘मिटरब्याजीहरूलाई कारबाही गर’, ‘सुद्खोरहरूको सम्पत्ति छानविन गर’लगायतका नारा लेखिएका प्लेकार्ड थिए । केही प्रदर्शनकारीहरूको हातमा लाठी पनि थियो । एक किसानले त काँधमा हेलो नै बोकको थिए ।


साहु र सरकारविरुद्ध आक्रोशसहित उनीहरू बालुवाटार पुगे । तर, उनीहरूलाई बाक्लो संख्यामा तैनाथ प्रहरीले अगाडि बढ्न दिएन । त्यसपछि उनीहरूले बालुवाटारको पीपलबोटलाई मञ्च बनाएर कार्यक्रम सुरु गरे । जनगायक प्रदीप देवान गीतार बजाउन थाले । गीतारको धुनमा पीडित महिला किसानको कारुणिक स्वर मिसियो । गाउँदा–गाउँदै केही भावुक पनि देखिए । र, देखिए आँखामा बर्बर आसु । 

आन्दोलनमा सरिक खगेन्द्र संग्रौला, अर्चना थापा, सञ्जीव उप्रेती, राजेन्द्र महर्जनलगायतका लेखक तथा नागरिक अगुवाहरूले सरकारको घोर विरोध जनाए । उनीहरू सबैको समान निष्कर्ष थियो– देशमा सरकार नै छैन । अगुवाहरूले मिटरब्याजी साहुहरू विभिन्न राजनीति दल तथा नेताहरूको संरक्षणमा रहेको उनीहरूको आरोप थियो । 

यो उनीहरूको दोस्रो पटकको आन्दोलन हो । किसानहरू पहिलोपटक जेठ २९ गते धर्ना दिन काठमाडौं आएका थिए । धर्नाको १४औँ दिनमा गृह मन्त्रालयबाट पीडक साहुहरूमाथि छानविन गरी कारबाही गर्ने आश्वासन पाएपछि किसानहरू गाउँ फर्किएका थिए । जिल्ला र प्रहरी प्रशासन नवलपरासीले साहुहरू उपर निष्पक्ष छानविन नगरेको भन्दै उनीहरू फेरि काठमाडौँ आएका हुन् ।  आज दोस्रोपटकको आन्दोलनको ३०औँ दिन हो । 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x