समाज

निर्वाचनबारे मतदाताले अधिकतम जानकारी पाउने वातावरण बनाउन आयोगलाई सुझाव

इकागज |
भदौ १७, २०७९ शुक्रबार २०:१७ बजे

काठमाडौँ- राष्ट्रिय सूचना आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, पारदर्शी, जिम्मेवार बनाउन तथा मतदाताले अधिकतम जानकारी पाउने वातावरण बनाउन निर्वाचन आयोगलाई सुझाव दिएको छ ।

आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको अध्यक्षतामा यही भदौ १६ गते भएको ३७औँ बैठकले निर्वाचनका लागि उम्मेदवारले पेस गर्ने मनोनयनपत्र तथा संलग्न कागजात सर्वसाधारण मतदातालाई जानकारी गराउन र निर्वाचन सम्पन्न भएपश्चात कानुनबमोजिम उम्मेदवारले पेस गरेको निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न सुझाव दिने निर्णय गरेको हो ।


आयोगका सूचना आयुक्त तथा प्रवक्ता कमला ओली थापाका अनुसार सूचनादाताको संरक्षणसम्बन्धी नियमावलीको मस्यौदा स्वीकृतीको कारबाही अगाडि बढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाउने पनि निर्णय भएको छ । यस्तै सूचनाको हक कार्यान्वयनसम्बन्धी राष्ट्रिय रणनैतिक योजनामा अन्तिम सुझाव प्राप्त गर्न आयोगको वेबसाइटमा एक महिनाका लागि राख्ने र सम्बद्ध मन्त्रालयको पनि सुझाव लिने आयोगले निर्णय गरेको छ ।

आयोगले नेपाल र बङ्गलादेशका सूचना आयोगबीच भएको आपसी सहयोगसम्बन्धी समझदारीपत्र तथा  कार्यान्वयन कार्ययोजना बमोजिमका कार्य अगाडि बढाउने तथा भारत र श्रीलङ्काका सूचना आयोगसँग पनि आपसी सहयोगसम्बन्धी समझदारी गर्न प्रस्ताव गर्ने निर्णय गरेको प्रवक्ता ओलीले जानकारी दिइन् ।


Author

थप समाचार
x