समाज

नयाँ वर्षमा वडा अध्यक्षको नयाँ अभियान : विद्यालय व्यवस्थापन गर्न चन्दा संकलन

इकागज |
बैशाख १, २०७८ बुधबार १९:३९ बजे

काठमाडौँ  : गोरखाको एक विद्यालयले शिक्षक राख्नकै लागि चन्दा संकलनको थालनी गरेको छ ।  शहिदलखन गाउँपालिका–७ का चण्डिका आधारभूत विद्यालयले निजी स्रोतमा शिक्षक राख्न चन्दा संकलनको शुरुवात गरेको हो ।  विद्यालयमा भएको शिक्षक दरबन्दी कटौती भएपछि वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, स्थानीय र शिक्षकहरुले चन्दा संकलन सुरु गरेका हुन् । 

कक्षा १–८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा जम्मा १० जना शिक्षकहरु छन् । विद्यालयमा १६५ जना विद्यार्थी छन् ।  विद्यालयमा भइरहेका शिक्षकहरुको दरबन्दी धमाधम कटौती हुन थालेपछि वडा अध्यक्ष शरण श्रेष्ठले एउटा अभियाननै चलाएका छन् । ‘विद्यालय त चलाउनु पर्‍यो । त्यसैले नयाँ वर्ष नयाँ अभियान भनेर चन्दा संकलनको काम थालेका छौँ,’ वडा अध्यक्ष श्रेष्ठ भन्छन्, ‘यो अभियानमा शिक्षकहरु, स्थानीय अविभावकलगायत सबै क्षेत्रबाट सहयोग प्राप्त भएको छ । आशा छ विद्यालयमा दरबन्दी काटिएर शिक्षक गए पनि हामीले निजी स्रोतमा राख्न सक्छौँ ।’ 


उक्त विद्यालयमा निमावि तहमा राहत दरबन्दी ३ वटा छ । त्यस्तै प्राविमा ५ वटा दरबन्दी भए एउटा हटेर चार वटा भएको छ । गाउँपालिकाले पत्र काटेर थप एउटा दरबन्दी पनि काट्ने जानकारी दिइसकेको छ । ‘दरबन्दी काटिन थालेको छ,’ विद्यालयका प्रधानाध्यापक गणेशमान श्रेष्ठले भने, ‘विद्यालय त चलाउनै पर्‍यो । त्यसैले वडाअध्यक्षज्यूको साथ पाएर हामीले चन्दा संकलनको काम थालेका छौँ ।’  

उनले निमावि तहमा विषयगत शिक्षक जम्मा तीन जना भएको र अन्य विषय भने प्रावि तहका शिक्षकहरुले पढाउँदै आएको बताए ।  ‘नर्सरी र केजीमा २ जना दरबन्दीको शिक्षक हुनुहुन्छ । प्राविमा ५ निमाविमा ३ जना । यहीमाथि काटिने भनेर पत्र आएको छ,’ प्रअ श्रेष्ठले भने, ‘अब निजी स्रोतबाट भए पनि २ जना शिक्षक राख्ने तयारी गरेका छौँ । निजी स्रोतकै खर्चबाट तलब दिने गरी एक जना सहयोगी पनि राख्ने योजना बनाएका छौँ ।’  

वडा अध्यक्ष श्रेष्ठको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर विकलगायत सहभागी भएको बैठकले निजी स्रोतमा शिक्षक राख्ने निर्णय गरेको हो । त्यसैको लागि स्रोत व्यवस्थापन गर्न अहिले चन्दा संकलन अघि बढाइएको वडा अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘शिक्षक नभएर दुईवटा कक्षा एकै ठाउँमा पढाउनुपर्ने अवस्था आउन लाग्यो,’ अध्यक्ष श्रेष्ठले भने ‘सर्वपक्षीय छलफलपछि हामीले निजी स्रोतमा शिक्षक राख्ने निणर्य गरेका हौँ ।’

वडा अध्यक्ष श्रेष्ठ स्वयम आफैँले २८ हजार रुपैयाँ प्रदान गरेर चन्दा संकलन अभियान सुरु गरेका छन् । अध्यक्ष श्रेष्ठले चन्दा दाताको विवरण आफ्नो फेसबुकमार्फत सार्वजनिक गरिरहेका छन् । उनले चन्दा संकलन अभियान केही समय जारी रहने पनि बताए । 

#नयाँको सुरुवातको दिनमा नै नयाँ काम”पहिलो दिनमा नै रु ४,९४,५४०/(चार लाख चौरानब्बे हजार पाच सय चालीस)शहिद लखन गाउपालीका...

Posted by Sharan Shrestha on Tuesday, April 13, 2021


Author

थप समाचार
x