समाज

पशुपतिमा श्राद्ध गर्नेको घुइँचो

इकागज |
भदौ २६, २०७९ आइतबार १०:३३ बजे

काठमाडौँ - आजबाट विधिवत् सोह्रश्राद्ध सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत सुरु भएको हो ।


आजबाट काठमाडौँ उपत्यकाका पशुपतिनाथ, गोकर्णेश्वरलगायत मन्दिर नजिकका नदी किनारमा श्राद्ध गर्नेहरूको बिहानैदेखि भिड लागेको छ। काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर (वागमती नदी किनार) मा पनि श्राद्ध गर्नेहरूको भिड रहेको छ ।

आज तनहुँ र चितवनको देवघाटधाम, म्याग्दीको गलेश्वर, बराहक्षेत्र, रुरु क्षेत्रलगायतका पावन भूमिमा श्राद्ध गर्नेहरूको भिड छ । तिथि घटबढका कारण आजै प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्नेछ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधा दान र पिण्डदान गरिन्छ । चाडपर्व,यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सत्य सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने शास्त्रोक्त कथन रही आएको छ ।

यो समय पितृहरूले आश गरेर बसेको हुने भएकोले पनि पितृलाई पिण्डदान र तर्पण दिने गरिन्छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुने र पितृऋणबाट पनि मुक्त मिल्ने कथन छ ।

यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्ने धार्मिक विश्वास पनि रही आएको छ । पितृ पक्ष सकिएलगत्तै बडा दशैँ सुरु हुन्छ । ठूलो चाडअघि पितृहरूलाई सन्तुष्ट पार्नु वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरूको धार्मिक मान्यता छ ।

जसकारण पनि आजबाट १६ दिनसम्म पितृहरूलाई तर्पण, पिण्डदान, सिधा दान गरेर सोह्रश्राद्धको समापन गरिन्छ । 


 


Author

थप समाचार
x