समाज

पुरातत्वले जिम्मा लियो अमेरिकामा फेला परेको मूर्ति

इकागज |
बैशाख २, २०७८ बिहिवार १९:२५ बजे

काठमाडौँ : सन १९८४ मा नेपालको ललितपुरबाट चोरी भएर अमेरिकामा फेला परेको लक्ष्मी नारायणको मूर्ति पुरातत्व विभागले जिम्मा लिएको छ । मुर्तिलाई सुरक्षित साथ राख्‍न पाटन संग्रहालयमा पठाइएको छ । 

बिहीबार पुरातत्व विभागमा आयोजित कार्यक्रममा विभागले मूर्ति जिम्मा लिएको हो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला उपस्थित थिए । 


अमेरिकी दूतावास, अमेरिकी कूटनीतिक सेवाअन्तर्गतको विदेश अपराध अनुसन्धान हेर्ने कार्यालय, नेपाल प्रहरी, एफबिआई र डल्लास म्युजियम अफ आर्टको महिनौँको संयुक्त अनुसन्धानपछि लक्ष्मी-नारायणको मूर्ति फेला परेको थियो । 

अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा गत वर्ष मंसिरमा भेटिएको यो मूर्ति पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको थियो । डल्लास म्युजियममा मूर्ति फेला परेपछि अमेरिकास्थित नेपाली दूतावासलाई हस्तान्तरण गरिएको थियो ।

मूर्ति २०७७ चैत्र ३१ गते नेपाल ल्याइएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव कोइरालाले धेरै मेहनतपछि विदेशमा रहेका मूर्ति नेपाल ल्याउन सफल भएको बताए । उनले नेपालमा महत्वपूर्ण स्थानमा रहेका मूर्तिहरूको अभिलेखिकरण गरिने जानकारी दिए । 

सन् १९८४ मा हराउनुअघि पाटनमा मूर्तिको पूजा हुने गरेको तथा  नर र नारीको संयुक्त स्वरूप धारण गरेका देवताको दुर्लभ मूर्तिको दायाँ भागले नारायण र बायाँ भागले लक्ष्मीको प्रतिनिधित्व गरेको ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

मुर्ति ७० किलोको छ । मध्यकालिन नेपाली मूर्तिकलाको नमूनाको रूपमा रहेको र प्रस्तरबाट बनेको मूर्ति १५ र्औं शताव्दीको मानिएको छ । 


Author

थप समाचार
x