सपिङ एडिक्सन : कपडाले मान्छे किन्ने रोग
मान्छेले कपडा लगाउनुपर्ने हो
तर, यहाँ
कपडाले मान्छे लगाइरहेको छ ।
कवि कल्पना चिलुवालको उक्त कविता ‘बजार’ले बजारको वास्तविकता खोल्छ । यसले मानिसहरूमा बढ्दै गएको किनमेल लतबारे पनि बोल्छ ।
मनोविद्हरूका अनुसार पछिल्लो समय मानिसहरूमा ‘सपिङ एडिक्सन’ बढ्दो छ । थुप्रैको घरमा नचाहिने सामान थुप्रिन थालेको छ । जसले आर्थिक भार बढाउनुका साथै पर्यावरणलाई समेत असर गरिरहेको उनीहरूको गुनासो छ ।
ललितपुर, लगनखेल बस्ने आस्था नेपाल हालै ‘सपिङ एडिक्सन’मा परेर काउन्सिलरकहाँ गइन् । परिवारमा अरुभन्दा उनलाई बढी नै सपिङ गर्नुपर्थ्यो । तर, यो क्रम घट्नुको साटो समाधान नै खाज्नुपर्ने गरी बढ्न थाल्यो । ‘चाहिए पनि नचाहिए पनि जे सामान देख्यो त्यही किन्नुपर्ने हुन थाल्यो,’ उनले सुनाइन्, ‘आफूले चाहेको सामान किन्न पाएन भने छटपटि हुने, निद्रा नलाग्ने हुन्थ्यो । अति नै भएपछि एकजना साथीले काउन्सिलरकहाँ जाने सल्लाह दिइन् ।’
आवश्यकताभन्दा बढी सामान थुपार्न थालेपछि परिवारसँग उनको सम्बन्ध बिग्रिन थालेको थियो । ‘कमाएको जति सबै पैसा सपिङमा सक्किन थालेपछि घरमा एकदमै रिसाउन थाल्नुभयो,’ उनले भनिन्, ‘किन्दिन भन्दाभन्दै पनि पैसा हातमा आएपछि सामान किन्न कुदिहाल्थेँ । पैसा नभएको बेला साथीहरूसँग सापटी मागेर पनि किन्थेँ ।’
मनोवैज्ञानिक परामर्शपछि उनले आफूलाई ‘सपिङ एडिक्सन’ भएको थाहा पाइन् । अहिले उनमा केही सुधार आएको छ । मनोविद् गोपाल ढकालकहाँ आस्थाजस्तै धेरैजना यस्ता खाले लत लिएर आउँछन् । कतिलाई त यो किनमेलको लत मानसिक समस्या हो भन्ने नै थाहा नभएको उनी बताउँछन् ।
उनका अनुसार पैसा देख्यो कि किनमेलका लागि मरिहत्ते गर्ने समस्यालाई मनोचिकित्साको भाषामा ‘ओनियोमेनिया’ भनिन्छ । यो लतको कारणबारे मनोविद् ढकाल भन्छन्, ‘यदि कोही तनाव, डिप्रेसन, ‘पर्सनालिटी डिसअर्डर’, ‘लो सेल्फ स्टिम’ र एक्लो महसुस गर्न थालेको छ भने त्यसलाई भुल्न ऊ सपिङको लततिर लाग्छ ।’
उनका अनुसार कोही मानसिक अवस्थाका कारण यो लतमा लाग्छन् । कोहीलाई भने सामाजिक संजाल र त्यसमा आउने विज्ञापनले असर गरेको हुन्छ । ‘सामाजिक संजालमा सो–अफ गर्ने ट्रेन्ड बढेको छ, त्यसलाई पछ्याउँदा पछ्याउँदै घरमा कतिबेला अनावश्यक सामान थुप्रिसकेको हुन्छ धेरैलाई हेक्का नै हुँदैन,’ अर्को कारणबारे प्रष्ट पार्दै उनले भने । यस्तो समस्या हुँदा मानिसमा कुनै समान देख्नासाथ किन्ने इच्छा हुन्छ र किनेपछि पछुतो हुन्छ । तर, पछुतो भएपनि फेरि सामान किनिहाल्ने बानी हुन्छ । यसरी किनेको सामान सही ढंगले प्रयोग हुँदैन ।
नेपालमा विस्तारै भित्रिन थालेपछि विकसित देशहरूमा यो समस्या अझै धेरै भएको उनी बताउँछन् । यस्तो खालका समस्याले फजुल खर्च बढाउनुका साथै परिवारसँगको सम्बन्धसमेत बिग्रेको उनले पाएका छन् । परिवारका कसैमा यस्तो समस्या भए बेलैमा काउन्सिलरकहाँ लैजान उनको आग्रह छ ।
मनोविद् करुणा कुँवर यदि परिवारमा कसैले चाहिनेभन्दा बढी सामान थुपारिरहेको छ भने त्यसलाई सामान्य रूपमा लिन नहुने बताउँछिन् । उनको अनुसार किनेका लुगाको दुई÷तीन वर्षसम्म ट्याग निकालिएको छैन । भाँडाकुँडा वर्षौँवर्षसम्म प्रयोगमा गरिएको छैन । भान्साका सामान धेरै भएर खेर फ्याँक्नुपरेको छ । मेकअपका सामान लामो समयदेखि थन्किएर बसिरहेका छन् भने यो सामान्य अवस्था होइन । यसलाई उनी ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ (ओसीडी) भन्छिन् । यस्तो अवस्थामा मानिसहरू बारम्बार हात धोइरहने, अनावश्यक सामान किनेर थुपारिरहने, ढोकामा ताल्चा लगाए÷नलगाएको, ग्यास बन्द गरे÷नगरेको जस्ता कुरामा दोधार भइरहने खालका हुन्छन् ।
यस्ता मानिसहरू तनाव वा डिप्रेसनबाट गुज्रिएका हुनसक्ने उनी बताउँछिन् । ‘तीनै मानसिक समस्याबाट ध्यान हटाउन सपिङमा लत बसाउँछन्,’ उनी भन्छिन्,‘कोपिङ मेकानिजम’का लागि धेरैले यो व्यवहार देखाउँछन् । सपिङले उनीहरूलाई आनन्द महसुस गराउँछ । तर कति पैसा, समय र ऊर्जा खर्च भयो त्यसको हेक्का हुँदैन ।’
यस्तो समस्या बढ्दै गएमा आर्थिक, मानसिक, पारिवारिक सबै रूपमा ठूलो असर पर्ने उनले बताइन् । ‘पहिलो कुरा त घरमा अनावश्यक सामानको थुप्रो लाग्न थाल्छ,’ मनोविद् कुँवर भन्छिन्, सपिङ नगरेसम्म छटपटि/बेचैनी हुने, निद्रा नलाग्ने जस्ता समस्या देखिन्छ । यस्तो अवस्थामा एक्सपर्टसँग सल्लाह लिनुपर्छ ।’
हामीसँग भएका धेरै सामान पुनः प्रयोग गर्न सकिने खालका हुन्छन् । तैपनि, नयाँ सामान किन्ने बानी हुन्छ । यस्तो बानीबाट छुटकारा पाउन चाहिएको सामान मात्र किन्ने बानी बसाल्नुपर्ने मनोविद्हरूको सल्लाह छ । नचाहिने सामान जति नै सस्तो भए पनि नकिन्न उनीहरूको सुझाव छ । त्यस्तै, आफ्नो ध्यान अन्य कुरामा मोड्न पढ्न, घुम्न वा अतिरिक्त क्रियाकलापमा सहभागी भएमा यो समस्याबाट मुक्त हुन सकिने मनोविद् बताउँछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया