समाज

९० वर्षअघिको पासपोर्ट बाेकेर छोरा र नाति विभाग पुगेपछि...

अतिन आचार्य |
भदौ २८, २०७९ मंगलबार १९:३ बजे

काठमाडौँ- त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसर भित्र उनीहरू पुगे । मंगलबार मध्यान्ह उनीहरू विभाग परिसर पुग्दा सेवाग्राहीहरूको खचाखच थियो । कोही लाइनमा थिए भने कोही ओहोरदोहोर गरिरहेका थिए । यस्ता मानिसहरूको पनि प्रवेश थियो  जसले भएका पुराना पासपोर्ट राहदानी विभागलाई बुझाउन चाहन्थे । 

मुख्य द्वारबाट प्रवेश गरेका उनीहरूको गाडी मुख्य गेट अगाडि रोक्यो । गाडी भित्र युवा थिएनन् । दुवै जना ७० वर्ष कटेका वृद्ध थिए । उनीहरू त्यहाँ पासपोर्ट बनाउन पुगेका थिएनन् । 


विभागमा बुबा कृष्ण प्रसाद उपाध्याय रिमालको राहदानी बुझाउन दुई छोरा ध्रुवप्रसाद, बालप्रसाद र नाति सागर रिमाल पुगे । उनीहरू करिब ९० वर्ष अगाडि बनेको पासपोर्ट लिएर संग्रहालय पुगे ।

वि.स १९९० र २००५ जारी भएको दुई वटा राहदानी बोकेर छोरा र नाति गएका हुन् । ऐतिहासिक राहदानी भएकाले संग्रहालयमा राख्‍न पारिवारमा सल्लाह गरेर उनीहरू पुगेका थिए ।

हजुरबाको दुई जिवित छोराहरूसँग सल्लाह गरेर संग्रहालयमा राहदानी राख्‍न ल्याएको नाति सागर बताउँछन् । ऐतिहासिक वस्तुहरू घरमा राख्दा असुरक्षित र नष्ट हुने भएकाले संग्रहालयमा सुरक्षितसाथ राखिने विश्वाससहित हस्तान्तरण गरिएको उनले बताए ।

'सार्वजनिक महत्त्वको सामग्री सबैले देख्‍न पाउन भनेर संग्रहालयलाई हस्तान्तरण गरेका हौ,' उनले भने,' राहदानीको केही भाग च्यातिएको र कभर मुसाले पनि खाएको छ । संग्रहालयमा राखेमा संरक्षण पनि हुने र सर्वसाधारणले पुराना वस्तुहरू देख्न पाउँछन् ।'

कृष्णको पासपोर्ट छ भनेर उनका पाँचै भाइ छोरा लाई थाहा थिएन । नाति सागरले थाहा पाएका थिए । उनले सुरक्षितसाथ राखेका थिए । पाँचजना मध्ये उनको अहिले दुई छोरा जिवित छन् । तिनै दुई छोराको स्वीकृति लिएर नाति सागरले संग्रहालयमा राहदानी पुर्‍याए ।

नौ दशक अघि अहिलेको जस्तो मेसिन रेडिबल र विद्युतीय राहदानी थिएन । अहिले जस्तो ३२ र ६४ पेजका राहदानी पाइदैन थियो । पाए नपि सर्वसाधारणले सहजै पाउदैन थिए ।  राहदानीमा चिल्ला पाना हुँदैन थियो । कम्प्युटरले नाम टाइप हुदैन थियो । हातले नाम लेखिएका हुन्थे ।

उनको राहदानी नेपाली कागजमा बनाइएको थियो । घण्टौँ लाइनमा बसेर राहदानी लिनु पर्दैन थियो । राणाले मन पराएका मानिसले सहजै राहदानी पाउँथे ।

सागर सरकारी कर्मचारी भएकाले सरकारी कागजपत्रको महत्त्व बुझेका थिए । उनले वन मन्त्रालयबाट केही वर्षअघि अवकाश पाए । ऐतिहासिक राहदानी भएकाले उनले घरमा सुरक्षितसँग राखेका थिए । राहदानीको पानाको केही भाग मुसाले पनि खान भ्यायो । 

'सरकारी कागजपत्रहरू सकेसम्म दस्तावेजको लागि पनि राख्नुपर्छ,' उनी भन्छन्,' अहिलेका नयाँ पुस्ताहरूले पुराना ऐतिहासिक सामग्रीहरू देख्‍न पाएका छैनन् । यस्ता सामग्रीबाट विद्यार्थी तथा खोज अनुसन्धान गर्न चाहनेलाई सहज हुन्छ ।'

सागरको सम्बन्ध परराष्ट्र मन्त्रालयका कर्मचारीसँग पनि थियो । कर्मचारीकै सल्लाहले संग्रहालयमा हजुरबाको राहदानी पुर्‍याउने समय उनलाई जुर्‍यो ।  उनलाई परराष्ट्रका पूर्वसचिव डा. मदन भट्टराईले विभागमा सहजीकरण गरे । 'हामीले राहदानी मात्र देखेनौ यसमा हजुरबाले त्यसबेला बिताएको समय पनि साथसाथै देख्यौ,' उनी सुनाउँछन्,' हजुरबाले पाएको राहदानी हाम्रो परिवारको लागि गर्वको कुरा पनि हो ।'

राणाकालीन समयमा सागरका हजुरबा कृष्ण पहिलोपटक बेलायत पुगे । बेलायतका लागि नेपाली राजदूत बहादुर शमशेरसँग राजदूतावास स्थापना गर्ने शिलशिलामा उनी पुगेका थिए । उनले थपे,' नेपाली राजदूतावासको कार्यालय स्थापना गर्न राजदूतसँग हजुरबुबा साथमा जानु भएको थियो । उहाँहरू पानी जहाजबाट पुग्नु भएको थियो ।'

त्यतिबेला कृष्ण राणा परिवारको नजिक मानिन्थे । उनले सुवेदार पदसमेत पाएका थिए । राणा परिवारको नजिक भएकैले पनि राहदानी पाएर हजुरबाले बेलायत जाने अवसर पाउनु भएको हुन सक्ने नाति सागरले सुनाए । हजुरबुबाको राहदानीमा बेलायत, फ्रान्स र इजिप्टको भिसा लागेको छ ।

भावी पुस्ताले हजुरबाको राहदानी देख्न पाउन भनेर अर्को कपी घरमा संरक्षण गरेर राखिएको उनको भनाइ छ ।

'आजदेखि हजुरबुबाको राहदानी हाम्रो मात्र रहेन । सरकारको सम्पत्ति भयो,' हजुरबुबाको राहदानी संग्रहालयलाई बुझाएपछि उनले भने,' परिवारको संवेदना जोडिए पनि पुराना कुराहरू राज्यको पनि सम्पति होस भन्ने चाहनाले संग्रहालयमा राखेका छौ । राहदानी रिमाल परिवारको नासो कुनै दिन सरकारको थियो । अब फेरि सरकारलाई फर्कायौ ।'

पुराना-पुराना ऐतिहासिक सामग्री खोजेर सरकार राख्‍न सकेमा नयाँ पुस्ताका लागि ज्ञानको स्रोत बन्ने दाबी गर्छन सागर । कूटनीतिक क्षेत्रमा नेपालको उपस्थिति कस्तो थियो भनेर राहदानीले अवस्था देखाउन सक्ने उनको भनाइ छ ।

कृष्णको जन्म कोटेश्वरमा विक्रम सम्बत १९५१ मा भएको थियो । तीन छोरीको बुबा कृष्णप्रसादको २०३५ फाल्गुण १९ गते मृत्यु भएको थियो ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x