समाज

अविरल वर्षाका कारण कैलालीका करिब १ हजार घर डुबानमा

पोखरीमा पानी पस्दा लाखौको क्षति

इकागज |
असोज १, २०७९ शनिबार ८:२ बजे

कैलाली - केहीदिन देखि परेको अविरल बर्षाका कारण कैलालीका करिब १ हजार घर डुबानमा परेका छन् । कैलालीको भजनी नगरपालिका, जोशीपुर र कैलारी गाउँपालिकाका करिब १ हजार घर डुबानमा परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले मोहना, पथरैया, काडा र कान्द्रा नदीमा आएको बाढी बस्तीमा पस्दा ती घरहरू डुबानमा परेको बताए । नदीको जलस्तर बढ्ने क्रममा रहेकोले नदि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको सूचना अधिकारी जोशीले बताए ।


उनले अहिलेसम्म मानवीय क्षति भने नभएको बताए । बाढीले भजनी नगरपालिकाको वडा नम्बर १, ३, ५, ७ र ८ नम्बरका करिब ७ सय ६० घर डुबानमा परेका छन् ।

त्यस्तै कैलाली गाउँपालिकाको छोट्की बसन्ता लगायतका बस्ती र जोशीपुरका केही वडा डुबानमा परेको प्रहरीले जानकारी दिएको छ । पोखरीमा नदीको पानी पस्दा लाखौको क्षति भजनी नगरपालिकाको वडानम्बर ७ पहलवान गाउँमा रहेको गणेश शान्ति मत्स्य पालन केन्द्रमा कान्द्रा नदीको पानी पस्दा बेच्नका लागि तयारी अवस्थामा रहेको माछा नदीमा बगेका छन् ।

दुई बिघा क्षेत्रफलमा ७ ओटा पोखरीका करिब २० लाख जतिका माछा बगेर गएको संचालक विनोद श्रेष्ठले बताए । उनले राती अचानक नदी बढेर आउदा केही पनि गर्न नसकिएको बताए ।


Author

थप समाचार
x