समाज

शे-फोक्सुण्डोमा विभिन्न क्षेत्रका विज्ञ महिलासहित ६० जनाले पदयात्रा गर्ने

इकागज |
असोज २, २०७९ आइतबार १९:३४ बजे

काठमाडौँ-  शे-फोक्सुण्डोमा विभिन्न क्षेत्रका ५० जनाभन्दा बढी महिलाले एक सातासम्म पदयात्रा गर्ने भएका छन् । असोज २२ देखि २८ गतेसम्म जलवायु परिवर्तनले  हिमाली क्षेत्रमा असर पारेको भन्दै विभिन्न क्षेत्रका महिलाले पदयात्रा गर्ने भएका हुन् ।

पदयात्रामा शे-फोक्सुण्डोमा ताल संरक्षण, प्रकृतिमा आधारित पर्यटन विकास र जलवायु परिवर्तनले स्थानीय जनजीवनमा पारेको प्रभावलगायत विषयमा अन्तरक्रिया हुने साथसाथै फाउण्डेसनकी अध्यक्ष प्रजिता कार्कीले बताएकी छन् ।


उनका अनुसार पदयात्रामा विभिन्न क्षेत्रका विज्ञसहित ६० जना महिला सहभागी हुनेछन् । पदयात्राका क्रममा गरिने कार्यक्रमको बारेमा जानकारी दिँदै उनले भनिन्, 'जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा महिलाको जनजीवन र पर्याय-पर्यटन पारेको असरबारे ध्यानाकर्षण गराउँछौं । कार्बन उत्सर्जनमा नगण्य योगदान भए पनि नेपालको प्रकृति र सामाजिक जीवनमा देखिएका समस्या हामी विश्वलाई सुनाउन चाहन्छौं । यस विषयमा नेपाल सरकार र सम्बद्ध निकायसँग सहकार्य गर्न चाहन्छौं ।'

पदयात्राको मुख्य उद्देश्य उनले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको असर, स्थानीय महिलाको जनजीवनमा परेको समस्या र प्रकृतिमा आधारित पर्यटनको सम्भावनाको उजागर गर्नु रहेको बताइन् ।

'जलवायु परिवर्तनले निम्त्याएको समस्या समाधान र ध्यानाकर्षण गराउनु पनि हो,' उनले सुनाइन्, 'प्रकृति, प्रकृतिमा आधारित पर्यटन र स्थानीयको जनजीवनमा पारेको प्रभावबारे बुझ्न, बहस गर्न र समस्या समाधानको उपाय खोज्ने यात्रा हुनेछ ।'

१० र ११ गते हुने अन्तरक्रियामा मुख्य अतिथिको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ सहभागी कार्कीले जानकारी दिइन् ।

पदयात्रामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, न्यायाधीश सपना प्रधान मल्ल, प्रधानमन्त्रीका जलवायु सल्लाहकार डा. माधव कार्की, राष्ट्रिय सभाका सदस्य डा. विमला राई पौड्याल,  वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं वनस्पति विभागका महानिर्देशक डा.  राधा वाग्ले, डब्लु डब्लु एफ नेपालका निर्देशक डा. घनश्याम गुरुङ, गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्ट,  नायिका मनिषा कोइराला, वरिष्ठ पत्रकार युवराज घिमिरे, गायिका तथा सामाजिक अभियन्ता आनी छोइङ डोल्मा र लैंगिक समावेशी अभियानका अभियन्ता भुमिका श्रेष्ठ लगायत विभिन्न क्षेत्रका अगुवा, प्रदेश, स्थानीय तहका प्रतिनिधिसहित कूटनीतिक नियोगका प्रमुखहरूको सहभागी रहनेछ ।


Author

थप समाचार
x