चार वर्षपछि यातायात संस्थाहरू पुनः सामाजिक संस्था ऐन अन्तर्गत
मकवानपुर- देशभरका यातायात संस्थाहरू पुनः सामाजिक संस्था ऐन अन्तर्गत सञ्चालन हुने भएको छन् । झण्डै चार वर्षपछि देशभरका यातायात संस्था नवीकरण गरिने गरी सरकारले निर्णय गरेपछि पुनः सामाजिक संस्था ऐन अन्तर्गत सञ्चालनमा आउने भएका हुन् ।
नेपाल सरकारले चार वर्षअघि गरेको देशभरका यातायात संस्थाहरूको खारेजी र कम्पनीमा जानुपर्ने बाध्यात्मक निर्णय उल्टिएसँगै देशकै ठूलो यातायात संस्था नारायणी यातायात संस्था ४ वर्षपछि नवीकरण गरिएको छ । संस्थाले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । वर्तमान सरकारले सबै यातायात संस्थाहरूलाई साविककै संस्था दर्ता ऐन, २०३४ अन्तर्गत पछिल्लाे चार वर्षको समेत नवीकरण गर्ने निर्णयपछि देशभरका यातायात संस्थाहरू नवीकरण भएर साविककै अवस्थामा फर्केका छन् ।
देशकै ठूलो यातायात संस्था नारायणी यातायात व्यवसायी संघले पनि असोज ४ गते चार वर्षपछि नवीकरण भएको पत्रकार सम्मेलन गरेर संस्थाकै नाममा सामाजिक कार्य अघि बढाउने जानकारी दिएको छ । कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाले तत्कालीन केपी ओली सरकारबाट यातायात संस्थामाथि भएको प्रहारलाई वर्तमान सरकारले सच्याएको तथा शक्ति र सत्तामा रहँदा बदमासी गर्नेहरू जनताको नजरमा गिर्ने जिकिर गरे । उनले आगामी दिनमा पनि संघलाई सशक्त र सक्रिय बनाउन आग्रह गर्दै सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी लामाले मकवानपुरको सामाजिक क्षेत्रमा क्रियाशील संस्थामाथि सरकारबाटै प्रहार हुँदा सहयोग गरिएको स्मरण गरिन् ।
कार्यक्रममा प्रदेश सभाका निवर्तमान सांसदहरू मुनु सिग्देल, प्रेमबहादुर पुलामीले पनि नारायणी यातायातसँगै देशभरका यातायात संस्थाहरू नवीकरण भएकामा बधाई दिँदै सामाजिक योगदानमा सहकार्य गर्न अपिल गरि ।
नेकपा एमालेका नेता अनन्त पौडेल, मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले विगतलाई बिर्सेर आगामी दिनमा सहकार्य गरेर जाने प्रतिबद्धता व्यक्त गरे । नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठले यातायात व्यवसायीका पक्षमा सरकारले गरेको निर्णयको स्वागत गरे ।
सरकारले २०७४ चैत १८ गते यातायात संस्था कम्पनीमा दर्ता गर्ने निर्णयसँगै २०७५ वैशाख ४ गते यातायात संस्था नवीकरण नगर्ने निर्णय गरेको थियो । पछिल्लो पटक भदौ २० गते यातायात संस्थाको नवीकरण गर्ने निर्णय गरेको थियो । गृह मन्त्रालयले भदौ २९ गते जिल्ला प्रशासनहरूलाई यातायात संस्था नवीकरणका लागि पत्राचार गरेपछि नारायणी यातायात कार्यालयले असोज ४ गते नवीकरण भएको अध्यक्ष श्रेष्ठले बताए ।
देशभर २६ वटा यातायात संस्था नवीकरण हुँदा ६५ हजार ट्रकका धनीहरू कम्पनी छाडेर पुनः सामाजिक संस्थामा आबद्ध हुने अध्यक्ष श्रेष्ठले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया