समाज

दसैँ-तिहार लक्षित यात्रु सहायता कक्ष स्थापना

इकागज |
असोज ११, २०७९ मंगलबार १९:१६ बजे

सुर्खेत- दसैँ-तिहारजस्ता चाडपर्व लक्षित गरेर सुर्खेतका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

चाडपर्वमा घर फर्कने र बाहिर जाने यात्रुहरूलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सोमबारदेखि यात्रु सहायता कक्ष स्थापना गरेको हो । जिल्लाका नौ वटै पालिकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । उनले जिल्लामा दसैँ-तिहारको समयमा विगतमा धेरै ठूला दुर्घटना भएकाले दुर्घटना न्यूनीकरण गर्न यात्रु सहायता कक्षमा कार्यरत सुरक्षाकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गरिने बताए । 


विष्टले यात्रु सहायता कक्षमा कार्यरत सुरक्षाकर्मीले दुर्घटना न्यूनीकरणसम्बन्धी सवारी चालकलाई विभिन्न सचेतना गराउनुका साथै गाडीको सिट क्षमताभन्दा बढी यात्रु तथा सामग्री हाल्न रोक लगाउने बताए ।

उनले दसैँ-तिहारको समयमा यात्रुको चाप बढी हुने हुँदा दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्दै सुरक्षाकर्मीले सवारी अभावमा अलपत्र परेका यात्रुहरूलाई गाडीको व्यवस्था मिलाई घरसम्म पठाउन सहजीकरण गर्ने जानकारी दिए । चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई सफल बनाउन सम्बन्धित सबै निकाय र सरोकारवालालाई समेत उनले आग्रह गरे ।

त्यसैगरी चाडपर्वमा हुनसक्ने अवाञ्छित घटनाहरू रोक्नका लागि विशेष सुरक्षा योजना तयार गरिएको छ । योजना अन्तर्गत ट्राफिक प्रहरीसहित संयुक्त रूपमा ५३ स्थानमा आकस्मिक जाँच तथा  चोरी, तस्करी, लागूऔषध कारोबारलगायत अवैध गतिविधि नियन्त्रण गर्न १८ स्थानमा जाँच गरिने छ । झैझगडा, जुवा तास, चोरी, लुटपाट, मापसे नियन्त्रणका लागि ८६ स्थानमा जाँच गरिने छ भने २६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिने छ ।

यसैबीच सम्पत्तिको सुरक्षा, जनधनको सुरक्षा, उपभोक्ताको अधिकार, महिला बालबालिका, अपाङ्गता भएका एवं ज्येष्ठ, नागरिकको सुरक्षाका अधिकार सुनिश्चित गर्न कार्ययोजना बनाइएको छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय सुर्खेतले छड्के बजार अनुगमनलाई तीव्रता दिएको छ । कार्यालयले सुर्खेत सदरमुकाम वीरेन्द्रनगरसँगै ग्रामीण क्षेत्रमा समेत संयुक्त बजार अनुगमन जारी राखेको छ ।

अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु नष्ट गरिएको छ । बजारका विभिन्न स्थानको अनुगमनका क्रममा म्याद गुज्रिएका, कर छलि गरेर बिक्री गरिएका वस्तु, सुर्तीजन्य पदार्थ गरी करिब ५० हजार मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

उपभोक्ता ठग्ने व्यापारीलाई पहुँचका भरमा कारबाही नगरी उन्मुक्ति दिने, ठूला व्यवसायलाई छाडेर स–साना व्यवसायमा मात्र अनुगमन केन्द्रित भएको गुनासो आएपछि गोदाममा समेत प्रभावकारी रूपमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर थापाले जानकारी दिए ।


Author

थप समाचार
x