समाज

सरकारले एक दिन थप्यो तिहारको बिदा

इकागज |
कात्तिक २६, २०७७ बुधबार १६:१४ बजे

काठमाडौं : सरकारले मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो सँगै यस वर्ष तिहारको बिदा ४ दिन हुने भएको छ । किजा पूजाको अवसरमा २ गते पनि सार्वजनिक बिदा दिने निर्णय सोमबार बसेको मन्त्रिपरिषदबाट भएको गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । 

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बुधबार विज्ञप्ति जारी गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘किजा पुजाको अवसरमा २०७७ मंसिर २ गते मंगलबारका दिन नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था, शिक्षण संस्थाहरू समेतमा सार्वजनिक बिदा दिने’ निर्णय गरेको उल्लेख गरेका छन् । 


सरकारको पात्रोमा यसअघि कात्तिक २९ र ३० तथा मंसिर १ गते तिहारको बिदा दिने उल्लेख थियो । नेपाल पञ्चांग निर्णायक समितिले कात्तिक २९ गते बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा, ३० गते गाई र गोरु पूजा तथा नेवाः समुदायको म्हपूजा तथा मंसिर १ गते गोवर्धन पुजा तथा भाइपुजा गर्ने तोकेको थियो । 

नेवार समुदायले २९ गते नरक चतुर्दशीका दिनमा लक्ष्मीपूजा नगर्ने बताउँदै आएका थिए । ३० गते लक्ष्मीपूजा, मंसिर १ गते नेपाल संवत् नयाँ वर्षको पहिलो दिन म्हपूजा गर्ने उनीहरूले बताउँदै आएका थिए । उनीहरूको मागलाई सम्बोधन गर्दै सरकारले २ गते मंगलबार किजापुजा (भाइटीका) गर्नका लागि बिदा दिएको हो । 


Author

थप समाचार
x