जहाँ कहिल्यै टुट्दैन् पिर्कामा चचहुई...
पोखरा - दशैंको समयमा स्याङ्जाको हरिनास गाउँपालिका १ सालडाँडा (हट्टिया) मा २०६३ सालयता कुनै वर्ष टुटेको छैन, पिर्के पिङ । बर्षेनि दशैंका बेलामा हालिने पिर्के पिङ त्योभन्दा अघि केही वर्ष रोकिएको थियो । पछि फेरि सोही ठाउँको मन्दिरचोक युवा क्बलका युवाहरूले जोश देखाएपछि निरन्तर छ ।
पिर्के पिङमा आवश्यक सबै सामानको नाम कण्ठै छ, क्लबका युवालाई । क्लबका सबै सदस्यले नछुटाई भन्न सक्छन्,– मुल खामो, मारुनी, मुल पँखेटा, छोरे पँखेटा, घुर्रा, डाँडी, पिर्का, बाँसको बाँ र ठेडी । ती सामान कहाँ कसरी फिट गर्ने उनीहरूलाई सिकाउनै पर्दैन ।
गत वर्ष कोरोनाका कारण गाउँमा पिङ हाल्न ढिला भएपछि यो साल फूलपातीको अघिल्लो दिन नै पिङ तयार पारे । परम्परा अनुसार फूलपातीको दिन पूजा गरेर मात्र पिङ खेल्ने चलन छ । फुलपातीमा बली दिएर पुजा गरिसकेपछि पिर्के पिङ खेल्न सुरु भइसकेको छ । दशैंमा हालिएको पिङ तिहारसम्मै राखिने क्लबका अध्यक्ष श्रीकृष्ण प्रधानले जानकारी दिए । त्यहाँ आफ्नै गाउँका मात्र नभई पर परका गाउँकाहरू पनि पिङ खेल्न झुम्मिन्छन् ।
आठपिर्के पिङ राख्न क्लबका सदस्यहरूको खटाई घटस्थापना अघिदेखि नै हुन्छ । २०६३ सालदेखि पिङ हाल्न सुरु गरेको बताउने क्लबका पूर्व अध्यक्ष लोकेन्द्र मानन्धर सबै काम पूरा गर्न २० दिनभन्दा बढी लाग्ने बताउँछन् । ‘गाउँमा पहिला बाउबाजेले हाल्नुहुन्थ्यो । केही वर्षदेखि रोकिएको काम २०६३ सालदेखि फेरि हामीले सुरु गरेको हौं,’ उनले भने, ‘सबै काठ नयाँ फेर्नु पर्यो भने त एउटा पिङ तयार गर्न २० दिनभन्दा बढी लाग्छ ।’
यो वर्ष पनि १५ दिनसम्म समय लागेको मानन्धरले जानकारी दिए । टाँढाटाँढाबाट काठ बटुल्नुपर्ने कारण झन्झटिलो भएको उनको भनाइ थियो । तर वर्षमा एक पटक आउने दसैंमा संस्कृति जोगाउन सबैले मन लगाएरै काम गर्ने गर्छन् । जब पिङबाट ‘चचहुई’ आवाज कानमा ठोक्किन्छ, उनीहरूले पिङ हाल्दा पाएको दु:ख सबै भुल्छन् ।
तिहारपछि भने अर्को वर्षका लागि सामान स्याहार्छन् र अर्को वर्ष पनि काम लाग्ने भएमा त्यही प्रयोग गर्छन् । पुरानै सामानले काम चलेमा केही सहज हुने नभए सबै नयाँ काम प्रयोग गर्नुपर्ने मानन्धरले जानकारी दिए ।
गाउँका युवाहरू एकजुट भएका कारण हरेक वर्ष पिङ हाल्न सहज भएको क्लब अध्यक्ष श्रीकृष्ण प्रधानले बताए । ‘अरु ठाउँमा त लोप भइसके यस्तो पिङ,’ प्रधानले भने, ‘पढ्नका लागि सहर बसेकाहरू र कमाउन विदेश पसेकाहरू दसैंमा गाउँ फर्कन्छन्, हामीलाई काम गर्न जनशक्तिको अभाव छैन ।’
पिङ बनाउने काममा बूढापाकाहरूले पनि सहयोग गर्ने उनले बताए । २०६३ सालमा चारपिर्केबाट सुरु गरिए पनि ६४ सालदेखि अहिलेसम्म आठपिर्के हालिरहेको अध्यक्ष प्रधानले जानकारी दिए । अरु ठाउँमा परम्परागत पिङ हराएपनि क्लब यसलाई जोगाउन लागि परेको उनको भनाई थियो । नयाँ पुस्तालाई यसबारेमा जानकारी दिन र दशैंमा यसको महत्व बुझाउन आगामी वर्ष यसलाई निरन्तरता दिने उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया