समाज

सीमापारि मृत भेटिए सशस्त्र प्रहरी बलका असई

इकागज |
असोज २१, २०७९ शुक्रबार ११:४ बजे

सप्तरी - सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका एक प्रहरी सहायक निरीक्षक (असई) भारतीय भूमिमा मृत फेला परेका छन् । असई सत्यनारायण यादव सिमावर्ती बिहार राज्यको मधुबनी जिल्लाअन्तर्गत जिरोगा ग्राम पंचायत अर्नाहास्थित घोडदह खोलामा बिहीबार दिउँसो मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए। 

उनका अनुसार भारतीय प्रशासनले आवश्यक प्रक्रियापछि शव नेपाली सुरक्षाकर्मीको जिम्मा लगाइएको हो । शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ ।


‘सशस्त्र प्रहरीबाटै पाएको प्रारम्भिक जानकारीअनुसार शरीरमा लुगा नभएको अवस्थामा शव फेला परेको छ ।  शवको टाउकोमा चोट देखिएको छ । घटनाबारे थप अनुसन्धान थाल्ने उनको भनाइ छ ।

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले तत्कालै केही भन्न सकिने अवस्था नरहेको बताए । उनले नेपाल प्रहरीको अनुसन्धानपछि सत्य तथ्य जानकारीमा आउने बताए । 

सिरहाको भगवानपुर २ घर भएका असई यादव असोज १८ गतेदेखि बिदामा बसेका थिए । 


Author

थप समाचार
x