समाज

सुनसान सिंहदरवार

इकागज |
असोज २५, २०७९ मंगलबार १३:४४ बजे

फाइल तस्बिर

काठमाडौँ - दसैँ मनाउन मन्त्री, नेता र कर्मचारीहरू जिल्ला जाँदा सिंहदरवार सुनसान बनेको छ । दसैँ सकिएर सरकारी कार्यालयहरू खुल्न थालिसक्दा पनि सिंहदरवारमा चहलपहल देखिएको छैन । नेता र मन्त्रीहरू निर्वाचन प्रयोजनार्थ जिल्ला जाने क्रम बढेसँगै सिंहदरवार सुनसान बनेको हो । 

मन्त्रीहरू निर्वाचनका लागि गाउँ जाँदा मन्त्रीलाई भेट्न जाने कर्मचारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको भिड कम छ । मन्त्री तथा नेताहरू आफ्नो निर्वाचन जिल्ला तथा क्षेत्रमा गएकोले पनि सिंहदरवारमा मन्त्री तथा कर्मचारीहरू नदेखिएका हुन् । 


मंगलबार पनि सिंहदरबारमा मानिसहरूको आवतजावत निकै कम देखिएको छ । आइतबार कोजाग्रत पूर्णिमादेखि दसैँ औपचारिकरूपमा सकिए पनि सरकारी कामकाज सुरु भइसक्दा समेत दसैँ बिदामा गएका कर्मचारीहरू फर्किएका छैनन् । 

हाल मन्त्रालयमा सीमित कर्मचारीहरूलाई मात्रै देख्न तथा भेट्न सकिन्छ । 

दैनिक हजारौँको संख्यामा मानिसहरू सिंहदरवार प्रवेश गर्ने भए पनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरू र सवारी साधनहरू देख्न सकिन्छ । 

मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय लगायतका मन्त्रालयको अवस्था हेर्दा कर्मचारी तथा सेवाग्राहीहरूको संख्या न्युन मात्रामा देखियो ।


Author

थप समाचार
x