भारतबाट कैलालीमा बसाई सर्न थाले सारस
कैलाली - सात समुन्द्र पारीबाट जाडो छल्न भारततिर बसाइँ सरिरहेका सारस ( कर्याङकुरुङ) चरा भारतबाट कैलालीमा बसाई सर्न थालेका छन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आएका सारस चरा बुधबार कैलारी गाउँपालिका ३ निमुवाबोझी र ९ को सामरचौरा गाउँमा देखिएका हुन् ।
सो गाउँ नजिक खोलाको बगर र खेतमा चरा बसेको देखिएका थिए । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट यी चराहरू भारतको राजस्थान र गुजरातमा ६ महिनासम्म बिताउने गरेको चराविद हिरुलाल डङ्गौराले बताए ।
सात समुद्र पारीबाट आउने यी चरा भारत झर्ने क्रममा नेपालको माथिल्लो मुस्ताङस्थित समर–धौलागिरि हिमालको पश्चिम र डोल्पा गरेर दुई वटा रुटबाट आउने गर्छन् । मुस्ताङ हुँदै आउने सारस भेरी नदी कोरिडोर भएर भारततर्फ जाने गरेको डङ्गौराले बताए ।
त्यस्तै, सारसको दोस्रो रुट भने डोल्पा–कैलाली हो । डोल्पा हुँदै आएका सारस चरा कैलालीको हसुलियादेखि पूर्वतिर कर्णाली कोरिडोर भएर भारततर्फ जाने गर्छन् । डङ्गौराका अनुसार जानेबेला सारसले चार हजार ८९६ किलोमिटर उडान भर्ने गर्छन् ।
चराको जाने बेलाको यात्रा १३ देखि ४० दिनसम्मको हुने गर्छ । जाडोयाम सकिन थालेपछि पाकिस्तान, अफगानिस्तान, किर्गिस्तान लगायतका देश हुँदै फेरि यी चराहरू रसिया, मङ्गोलियाका लागि फर्कने गर्छन् । फर्कने क्रममा कर्याङकुरुङको उडान ६५ देखि ६६ दिनसम्मको हुने गरेको डङ्गौराले बताए ।
यस क्रममा कर्याङकुरुङले करिब छ हजार किलोमिटरसम्म उडान भर्ने गरेका छन् । समुहमा बस्न रुचाउने यी चरा उड्दा अङ्ग्रेजी अक्षरको भी आकार बनाएर आकाशमा उड्ने गर्छन् ।
तस्बिर : दिनेश कुश्मी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया