चाडबाडमा परिवारसँग मस्त कि सामाजिक सञ्जालमा व्यस्त ?
दसैँ भर्खरै सकियो । तिहार नजिकिँदै छ । अरु बेला पढाइको सिलसिलामा सहर बसे पनि हामीमध्ये धेरैजना चाडपर्वमा गाउँ जान्छौँ । आफन्त र परिवारसँग भेटघाट गर्छौँ । वर्षभरिका दुःख, सुख, निराशा सबै साट्छौँ । तर, हामीमध्ये कतिले त्यसो गर्यौँ, गरिरहेका छौँ ?
यसपटक घर जाँदा बाटोभरि मोबाइलमै घोत्लिँदै बस्नुभयो कि चिनेजानेका साथीभाइसँग बोल्दै, सन्चो÷बिसन्चो सोध्दै जानुभयो ? घर पुगेपछि परिवार र छरछिमेकीसँग बोलचाल गर्नुभयो कि सोसल मिडियामा वरपरका मान्छे र ठाउँको फोटो÷भिडियो खिच्दै ‘गाउँघर पुगियो’ भन्दै पोस्ट्याउन हतार गर्नुभयो ? पारिवारिक माहोलमा रमाउनुभयो कि त्यहाँ पनि स्मार्टफोनलाई नै आफ्नो साथी बनाउनु भयो ?
लामो समयपछि भेटिएका छोराछोरी आफ्नो छेउमा बसून्, कुराकानी गरुन् भन्ने चाहना हुन्छ, आमाबुवाको । तर, हाम्रो पुस्ता प्रायः सोसल मिडिया र स्मार्टफोनमा व्यस्त हुन्छ । सँगै बसेर कुरा गर्नु त परको कुरा हामीलाई आमाबुवाको हालखबर सोध्नेसम्म फुर्सद हुन्न । किनभने, हामीलाई त दसैँमा उडाउने चंगाभन्दा टिकटक र इन्स्टाग्राम प्यारो भइसक्यो । तिहारमा खेल्ने देउसी भैलीभन्दा पबजी र फ्री फाएरमा हामी रमाउन थालिसक्यौँ ।
हामी आफ्नो वरपरका कुरासँग रमाउन छाडिसक्यौँ । वरपरका मान्छेले भन्दा बढी खुसी हामीलाई फेसबुकमा आउने लाइक र कमेन्टले दिन थालेको छ । हामी फोटो सम्झना सँगाल्न होइन, फेसबुकमा देखाउन खिच्न थालेका छौँ ।
वरपरका मान्छेले भन्दा बढी खुसी हामीलाई फेसबुकमा आउने लाइक र कमेन्टले दिन थालेको छ ।
सोसल मिडिया र स्मार्टफोन नहुँदो हो त सायद यस्तो हुँदैनथ्यो । सबैजना भेला भइन्थ्यो । दुःख–सुख साटिन्थ्यो । अहिले कोही भेट्न पाएको छैन हालखबर सोध्नुअघि नै सेल्फी र टिकटकतिर लागिहाल्छौँ । चाडपर्व पनि फोटो खिच्न र टिकटक बनाउन मात्रै आएको जस्तो भइसक्यो । बेफुर्सदीका लागि परिवारसँग गुणस्तरीय समय बिताउने अवसर हो, यो । तर, सोसल मिडिया र स्मार्टफोनले गफगाफ लोप भइसक्यो । सामाजिक सञ्जालमा चिन्दै नचिनेको मान्छेको सम्पूर्ण चियोचर्चो गर्ने हामी आफ्नै अगाडि कोही बिरामी भएको देख्न छाडिसक्यौँ ।
चाडपर्व परिवारसँग भेटघाट र रमाइलो गर्नभन्दा पनि फोटो÷भिडियो खिचेर अरुलाई देखाउन मनाउन थालेका छौँ । टिकासमेत जहाँ बस्दा फोटो÷भिडियो राम्रो आउँछ त्यही बसेर लगाउन थालेका छौँ । हामीलाई खाएको, हिँडेको, डुलेको सबै सोसल मिडियामा लाइभ गर्नुपर्छ । सामाजिक सञ्जाललाई हामीले नियन्त्रण गर्नुपर्ने बेला सञ्जालले हामीलाई नियन्त्रण गरिरहेको छ । सामाजिक सञ्जालले जे गर भन्यो हामी त्यही गर्न थालेका छौँ ।
घरमा जत्रो भेला भए पनि हामी सबै एक्लो महसुस गर्न थालेका छौँ । चाडपर्व भनेको परिवारसँग बस्ने, खाने रमाइलो गर्ने समय हो । तर, अहिले कसले के खायो, को कहाँबाट आयो, कसको हालखबर के छ भन्दा पनि सोसल मिडियामा आउने नोटिफिकेसनमा लठ्ठिन्छौँ हामी । यतिसम्म मग्न हुन्छौँ कि हामीलाई त्यसभन्दा बाहिरी दुनियाँबारे केही थाहा हुँदैन, मतलब हुँदैन । हामी कतातिर जादै छौँ ? हाम्रो समाज कतातिर जाँदै छ ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया