Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

समाज

कर्णालीमा बाढीपहिरो : साढे १० हजार नागरिक घरबारविहीन

इकागज |
असोज २९, २०७९ शनिबार २१:१७ बजे

सुर्खेत- बाढीपहिराेका कारण कर्णाली प्रदेशमा १० हजार सात सय १४ जना घरबारविहीन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सबैभन्दा धेरै मुगुमा पाँच हजार दुई सय ८२ जना घरबारविहीन भएका छन् । 

कालिकोटमा एक हजार सात सय ६३, जुम्लामा एक हजार सात सय २५, सल्यानमा छ सय ३९, सुर्खेतमा पाँच सय ६६, हुम्लामा चार सय ७४, दैलेखमा दुई सय सात, डोल्पामा २५, जाजरकोटमा १८ र रुकुमपश्चिममा १५ जना घरबारविहीन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


बाढीपहिराेबाट कर्णालीमा एक हजार सात सय २० घरधुरी विस्थापित भएका छन् । त्यसमा मुगुमा सात सय २३, जुम्लामा तीन सय ६८, कालिकोटमा दुई सय ३५, सुर्खेतमा एक सय ३९, सल्यानमा एक सय २७, हुम्लामा ७३, दैलेखमा ४४, डोल्पा र रुकुमपश्चिममा चार/चार तथा जाजरकोटमा तीन घरधुरी विस्थापित भए । 

यस्तै बाढीपहिराेमा परेर कर्णालीमा ३६ जनाको मृत्यु भएको छ । बाढीपहिराेबाट जुम्लामा १० जना, मुगुमा आठ, कालिकोटमा छ, हुम्लामा चार, जाजरकोट सल्यानमा तीन/तीन, दैलेख र डोल्पामा एक/एक जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाढीपहिराेमा परेर कर्णाली प्रदेशको कालिकोटमा सबैभन्दा धेरै १७ जना बेपत्ता भएका छन् भने दैलेख, जुम्ला र डोल्पामा एक/एक गरी २० जना बेपत्ता भएका छन् । तीमध्ये एक जना नेपाल प्रहरीका जवान रहेको जनाइएको छ । 

त्यस्तै बाढीपहिराेमा परेर कर्णालीमा २८ जना घाइते भएका छन् । सबैभन्दा धेरै कालिकोटकै १० जना घाइते भएका छन् भने हुम्लामा छ, मुगु र जुम्लामा पाँच/पाँच जना तथा जाजरकोट र रुकुमपश्चिममा एक/एक जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा पूर्णरूपमा एक हजार एक सय ४० घर भत्किएका छन् भने आंशिक एक हजार छ सय १२ घर भत्किएका छन् । त्यस्तै बाढी तथा पहिराेबाट उच्च जोखिममा एक हजार चार सय ७७ घरधुरी रहेका छन् । 

पाँच दिनसम्म लगातार भएको वर्षाका कारण पानीले कर्णाली प्रदेशको मुगुमा दुई सय ५१, हुम्लामा दुई सय १७ र सल्यानमा ६४ गरी दुई सय ४६ पशुचौपायाको मृत्यु भएको छ । बाढीपहिराेका बेला उद्धार तथा राहत वितरणमा प्रदेशभर दुई हजार सात सय चार जना प्रहरी परिचालन गरिएको थियो । 

प्रदेश प्रहरी कार्यालयका अनुसार मुगुमा सात सय ५० जना, सल्यानमा पाँच सय ८०, जुम्लामा दुई सय ६५, रुकुमपश्चिममा दुई सय २९, कालिकोटमा दुई सय २५, जाजरकोटमा दुई सय १७, सुर्खेतमा एक सय ९४, हुम्लामा एक सय १४, दैलेखमा ८० र डोल्पामा ५० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) पोषराज पोखरेलले बेपत्ता व्यक्तिको खोजीकार्यसँगै अन्य क्षतिको विवरण सङ्कलनका लागि नेपाल प्रहरी अहिले पनि प्रभावित क्षेत्रमा खटिइरहेकाले उल्लेखित विवरणमा थपघट हुनसक्ने जानकारी दिए । 

पहिराेले कर्णाली क्षेत्रको अवरुद्ध यातायात आंशिक रूपमा सञ्चालनमा आए पनि पूर्ण रूपमा यातायात सञ्चालनमा ल्याउन अझै केही दिन लाग्नेछ । कर्णाली राजमार्ग कर्णाली करिडोर (हुम्ला जाने), रत्न राजमार्गसहित जाजरकोट, दैलेख जाने सडकमा ठूलो क्षति भएको छ । 

'पूर्ण रूपमा विच्छेद भएको सडक सञ्जाल आंशिक रूपमा सञ्चालनमा आएको छ,' प्रदेश प्रहरी कार्यालयका प्रमुख पोखरेलले भने, 'पूर्णरूपमा विच्छेद भएको कर्णाली करिडोर र कर्णाली राजमार्ग खुल्न अझै महिना दिन बढी लाग्ने देखिन्छ ।' 

उनका अनुसार मुख्य राजमार्ग मात्र नभएर कतिपय सहायक राजमार्ग पनि अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । पहिराेले दर्जनौँ स्थानमा राजमार्ग अवरुद्ध भएपछि राहत र उद्धारमा पनि कठिनाइ भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

विस्थापितलाई सरकारले हेलिकप्टरमार्फत राहत वितरण गरिरहेको पनि डिआइजी पोखरेलले जानकारी दिए । सडक सञ्जाल विच्छेद भएपछि हेलिकप्टरमार्फत टेण्ट, कम्मलसहित अन्य राहतका सामग्री बाढीपहिरो प्रभावित जिल्लामा पुर्‍याइएको छ । रासस


Author

थप समाचार
x