समाज

कलेजमा फूलखेती गर्दै कमाउँदै पढ्दै

इकागज |
कात्तिक ३, २०७९ बिहीबार १४:४६ बजे

तुलसीपुर। तुलसीपुर मेट्रो कलेजका विद्यार्थीहरुलाई फूल टिप्न भ्याईनभ्याई छ । तिहार नजिकिँदै गर्दा फूलको माग बढेसँगै उनीहरु फूल टिप्न र माला उन्नमै व्यस्त देखिन्छन् ।

‘चाडपर्व आएकाले होला अहिले धेरै ठाउँबाट अर्डर आएको छ, समयमै पुर्‍याउनुपर्दछ,’ विद्यार्थी सीता भण्डारीले बताइन् । उनले विद्यालयमार्फत परियोजनाका रुपमा फूलखेती गरेको बताउँदै फूलको उत्पादन र बजारको मागले आफूहरु उत्साहित भएको बताइन् । ‘यसपटक निकै राम्रो सिकाइ भएको छ, अर्कोपटक यसलाई थप विस्तार गर्ने योजना छ,’ भण्डारीले बताइन् । 


तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको कलेजमा कृषि र वनविज्ञान अध्ययनरत विद्यार्थीहरुले परियोजनाका रुपमा करिब आधा बिगाहा क्षेत्रफलमा फूलखेती गरेका छन् । उनीहरुले तिहारलाई लक्षित गरेर सयपत्री र मखमली फूल उत्पादन गरेका हुन् । ‘पढेको कुरालाई व्यवहारमा प्रयोग गर्न र नयाँ कुरा सिक्नका लागि हामीले फूल खेती गरेका हौं,’ विद्यार्थी भुवन बस्नेतले भने । उनले बाहिरबाट फूल आउने क्रमलाई आफूहरुले रोक्न सफल भएको बताए । ‘हामीले गुणस्तरीय फूलहरु यही उत्पादन गरेपछि बाहिरबाट आउने फूलहरु रोकिएका हुन्,’ बस्नेतले भने । उनले अन्य खेतीका लागि पनि आफूहरुले तयारी गरिरहेको जानकारी दिए । 

कलेज प्रांगणमा विद्यार्थीहरुले गरेकाे फूलखेती

विद्यालयका कृषि प्रशिक्षक घनश्याम केसीले विद्यार्थी आफैँले ५ सय ५५ बिरुवा उत्पादन गरेर खेती गरेको बताए । उनले विद्यार्थीहरुले सयपत्रीको २ हजार र मखमलीको ५ सय बिरुवा लगाएको सुनाए । कुनै पनि रासायनिक पदार्थ प्रयोग नगरिएको कारण फूलहरु लामो समयसम्म उस्तै रहने पनि उनको भनाइ छ । 

कलेजका प्रमुख वसन्त आचार्यले विद्यार्थीहरुलाई पढ्दै सिक्दै र कमाउँदै उत्प्रेरित गर्नका लागि विभिन्न परियोजना सञ्चालन गरिएको बताए । ‘फूलको उत्पादनसँगै अब हामीले अन्य विभिन्न खालका कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्दैछौँ,’ आचार्यले भने । 
    

कलेज प्रांगणमा विद्यार्थीहरुले गरेकाे फूलखेती


Author

थप समाचार
x