प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको मतपत्रको पृष्ठभूमि रङ सेतो हुने
काठमाडौँ- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्रको पृष्ठभूमि रङ सेतो रहेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिन्ह र अन्य विवरणका लागि कालो रङ प्रयोग भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिन्ह र अन्य विवरणको रङ रातो मसीको रहेको आयोगको भनाइ छ ।
निर्वाचन आयोगले शुक्रबारसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न गरेको छ । तिहारअघि थप ६ वटा जिल्लाको मतपत्र ढुवानी गरिने छ । बाँकी रहेका मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लाको मतपत्र भने तिहारपछि मात्र ढुवानी हुनेछ ।
पछिल्लो विवणअनुसार हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कुल एक करोड ५१ लाख २४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । जसमध्ये प्रदेश सभाका लागि ७५ लाख २५ हजार र प्रतिनिधिसभातर्फ ७५ लाख ९९ हजार मतपत्र रहेका छन् ।
हालसम्म प्रतिनिधिसभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा, अछाम, कैलाली, कञ्चनपुर, रोप्पा, प्यूठान, दाङ, रुकुम पूर्व, अर्घाखाँची, गुल्मी, बर्दिया र नवलपरासी पश्चिमलगायतका जिल्लाहरूको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया