बलात्कारीलाई संरक्षण किन ?
बारा- निजगढ नगरपालिका २ का वडाध्यक्ष राजन श्रेष्ठविरुद्ध गत २५ असोजमा इलाका प्रहरी कार्यलय निजगढमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा उजुरी दर्ता भए पनि अभियुक्त अझै पक्राउ पर्न सकेका छैनन् । बलात्कारीलाई पक्राउ गर्न प्रहरीले तदारुकता नदेखाएको भन्दै सोमबार स्थानीय महिला अधिकारकर्मीले आन्दोलन सुरु गरेका छन् ।
श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दसैँको टीकाका दिन १९ असोजमा अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । बालिकालाई बलात्कार गर्ने अभियुक्तको नाममा पीडितले किटानी जाहेरी दिए पनि उनी अझै पक्राउ पर्न सकेका छैनन् ।
बालिका बलात्कारको आरोपीलाई पक्राउ र कारबाहीको माग गर्दै सोमबार महिला अधिकारकर्मीहरूले निजगढमा प्रदर्शन गरेका हुन् । उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, पीडित परिवारलाई पीडकका आफन्तहरूले मानसिक तनाव दिने गरेकाले पीडितका परिवारको संरक्षण र सुरक्षाको ग्यारेन्टी हुनुपर्ने लगायतका माग गरेका छन् ।
उनीहरूले दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनले तदारुकता नदेखाएको भन्दै सक्रिय भएर लाग्नसमेत प्रहरी प्रशासनलाई आग्रह गरे । उजुरी दर्ता भएपछि इलाका प्रहरी कार्यालय निजगढले मुचुल्कासमेत उठाएको छ । प्रहरीले पीडित युवतीको स्वास्थ्य परीक्षण र बयानसमेत लिएर जबर्जस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
जबर्जस्ती करणी गरेको भन्दै १५ वर्षीया बालिकाले इलाका प्रहरी कार्यालयमा निजगढमा गत मंगलबार जाहेरी दर्ता गरेपछि वडाध्यक्ष श्रेष्ठविरुद्ध जिल्ला अदालत बाराले बुधबार पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारी भएलगत्तै पक्राउ गर्न भनेर प्रहरी निरीक्षक ओली नेतृत्वको प्रहरी टोली वडा अध्यक्ष श्रेष्ठको घरमा पटकपटक पुगेको थियो । अध्यक्ष श्रेष्ठ घरमा फेला नपरेको प्रहरीले बताएको छ । आफूविरुद्ध जबर्जस्ती करणीको आरोप लागेपछि वडाध्यक्ष राजन श्रेष्ठ फरार भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया