उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन
तस्बिर : दीपक उपाध्याय/इकागज
काठमाडौँ- आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिँदै छ । चतुर्थीदेखि शुरु भइ षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइ पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।
काठमाडौँको कमलपोखरी, थापाथली, कुपण्डोल, गुह्वेश्वरी, गौरीघाट, नख्खु लगायतका स्थानमा व्रतालुहरुले निर्माण गरिएको छठ घाटमा आईतवार जागा भइ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । साथै आज जनकपुरधाम, वीरगञ्ज लगायत तराईका विभिन्न स्थानमा उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्वको समापन गरिएको छ ।
व्रतालुले नदी, तलाउ तथा पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिइ आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवानले सूर्य नारायणलाई अर्घ्य दिने गर्दछन् ।
अर्घ्यमा ठेकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने प्रचलन रहेको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।
वैज्ञानिक र ज्योतिषी तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया