समाज

छोरा नजन्माएको निँहुमा ज्यान मार्ने धम्की, गर्भ परीक्षण गरेर छोरीको भ्रूण हत्या

इकागज |
कात्तिक १४, २०७९ सोमबार १९:१३ बजे

चितवन- काठमाडौँकी बबिता मल्ल र चितवनका सञ्जय थापाको विवाह २०६५ मा भयो । विवाहपछि एउटा सम्मानित परिवार र सम्मानित हैसियतको भविष्य कल्पना गरेकी थिइन् बबिताले ।

आफ्नो अध्ययन पूरा नभएकाले विवाहपछि उनीहरू दुवैजना सहमतिमै माइती तथा ससुरालीमा बसे । दुवैले पढाइ पूरा गरे । माइतीमा बस्दै गर्दा बबिताले अध्ययनसँगै पार्लरको सीप सिक्न सुरु गरिन् । दम्पतिको भविष्य सहज बनाउने सपनालाई पार्लरको सीपले साकार बनाउने अपेक्षा थियो उनको । बबिता र सञ्जय दुवैजना अध्ययन सकेर पढाई पूरा गरी अस्ट्रेलिया जाने तयारी पनि गर्दै थिए ।


यसैको तयारीमा उनीहरू सात वर्ष काठमाडौँमै बसे । यसबीचमा छोरीको जन्म भयो । पढाइ सकेर सञ्जय चितवन घर फर्किए । बबिताको पार्लर सकिन केही समय बाँकी थियो । छोरीलाई पढाउन सुरु गर्ने बेला भएकाले बबिताले परिवारमा खर्चमा सघाउन अनुरोध गरिन् ।

विवाहको केही समयबाट सामान्य खटपट हुने गरे थियो तर त्यसलाई खासै ठूलो रूपमा नलिने गरेकी बबिताले थापाको परिवारबाट अपनत्व पाउनै सकिनन् । जब छोरीको पालनपोषण र शिक्षामा केही सहयोग गर्न अनुरोध गरिन् अनि झनै तीतो भयो परिवारको सम्बन्ध ।

आमाजू मुना अधिकारी, सासु मिना थापा र श्रीमान सञ्जय बबिताको विरुद्धमा खनिए । ‘दाइजो के ल्याएकी थिइस् र अहिले खर्च माग्छेस् भन्नुभयो,’ बबिताले भनिन्, ‘उहाँ (श्रीमान्) चितवन बस्ने म र छोरी यता (काठमाडौँं) बस्ने भएकोले सम्बन्धमा चिसोपन आयो भन्ने सोचेर म पनि चितवन गएँ, तर सोचेजस्तो राम्रो कहिल्यै भएन ।’

बबिता अगाडि भन्छिन्, ‘आफ्नो घर बसोस् भनेर मैले धेरै सहेँ, तर आज त्यो सहेकै कारण मेरो ज्यान धरापमा छ ।’

‘छोरी पढाउने कुरा सुरु भएपछि दाइजोको कुरा सुरु भयो, म काठमाडौँ बसेर पार्लरको तालिम नसकिएकोले यतै बस्न खोजेकी थिएँ,’ उनले भनिन्, ‘परिवार मिलाउनकै लागि म घर (चितवन) गएँ, सँगै बस्दा राम्रो होला भन्ने आशा थियो, तर भएन ।’

छोरी पढाउनका लागि खर्च गर्ने सवालमा दाइजो जोडिएपछि लगातार दशकभन्दा लामो समयदेखि ‘टर्चर’  (यातना) दिँदै आएको उनको भनाइ छ । ‘दाइजो केही नल्याउने, पैसाको कुरा गर्ने भनेर आमाजू दिदीले दिन/रात टर्चर दिइराख्नु भयो,’ बबिताले भनिन् ।

कोरोनाका कारण देश लकडाउन भएका बेला गत वर्ष आमाजू दिदी र श्रीमान् मिलेर भ्रूण पहिचान गरेर छोरी भएको थाहा भएपछि करकापमा पारेर गर्भपतन गरेको उनले बताइन् । ‘छोरा नै चाहिन्छ भन्ने दबाब थियो, छोरी भएपछि भने ज्यान मार्ने धम्की दिएर गर्भपतन गराए,’ बबिताले भनिन् ।

लकडाउनको समयमा काठमाडौं माइती बस्दै आएकी बबितालाई आमाजु मुना थापाको घर चितवनमा लागेर धम्की दिएर गर्भपतन गराएको उनले बताइन् । ‘परिवार मिल्ने आशा र आफ्नो ज्यान बचाउनकै लागि आफ्नो गर्भ जबर्जस्ती पतन गराउँदा म कतै बोल्न सकिनँ,’ बबिताले भनिन् ।

‘गर्भपतन गराएको कसैलाई भनिस् भने मारिदिन्छु भन्ने धम्की दिएका थिए, त्यसैले कानुनले तोकेको म्यादभित्र उजुरी गर्न सकिनँ,’ उनले भनिन्, ‘अब त अति नै भयो, कति सहनु, अनि कानुनको बाटो खोजेको हुँ ।’

बबिताले केही समयअघि जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको बताइन् । उनका अनुसार एकपटक तारेखमा उनी सहभागी भइन्, अब २४ गते अर्को तारेख छ ।

परिवारमा मेल नभएकै कारण उनीहरूको १० वर्षीया छोरीको पढाइमा समेत समस्या भएको भन्दै बबिताले चिन्ता प्रकट गरिन् ।

बबितालाई गत असारदेखि छोरो नपाउने हो भने घर छोड्न दबाब दिन थालेको उनले सुनाइन् । 'कि छोरा चाहियो कि त मेरो बाटो खुल्ला गर' भनेर मानसिक रूपमा टर्चर गर्ने गरेको उनकाे भनाइ छ । आमाजू, श्रीमान् सञ्जय र सासू मिना थापा खुकुरी लिएर लम्कीधम्की गरेको उनले बताइन् । बसिखप्नु नभएपछि माइतमा आएर बसेको र अदालतमा उजुरी दर्ता गरेको उनकाे तर्क छ । त्यसपछि झनै धम्की दिएको बबिताको भनाइ छ ।

बबिताका अनुसार थापा परिवारले बबितालाई फेरि गर्भ राख्न र पहिचान गरेर छोरी भएमा फाल्नुपर्ने दबाब दिंँदै आएको छ । ‘फेरि गर्भ राखौँला तर, फेरि पनि छोरी नै रहेछ भने, म कतिपटक मेरो ज्यान धरापमा राखुँ, भ्रूण पहिचान गर्दै गैरकानुनी रूपमा गर्भपतन गराइरहने उनीहरूलाई कानुनी सजाय होस्,’ बबिताकाे माग छ ।

छोरा नजन्माए घरमा बस्न नपाइने भन्दै मानसिक यातना अति नै दिँदै आए र आफूले नमानेकै कारण घरबाट निकालेको उनले बताइन् ।

गत भदौदेखि बबिता पुन: माइती बस्दै आएकी छिन् ।

फेरि पनि छोरी भएकाले गर्भपतन गरेका हौं : श्रीमान् सञ्जय थापा

बबिताका श्रीमान् सञ्जयले आफ्नो परिवारले बबितालाई उनले भने अनुसार मानसिक यातना नदिएको दाबी गरेका छन् । गर्भपतनको सवालमा दुवै जनाको सहमति रहेको सञ्जयले बताए ।

‘लकडाउनको समयमा काठमाडौँदेखि गाडीमा चितवन आयौँ । पहिले पनि छोरी छँदै थिइन् फेरि पनि छोरी भएका कारण बबिता पनि गर्भपतन गर्न राजी थिइन्,’ सञ्जयले भने, ‘मैले बाबाआमालाई के भन्छौँ भनेर सोध्दा उसैले गाडीमा आएका कारण खेर गयो भनौंला भनेपछि हामीले गर्भपतन गराएका हौँ ।’

अहिले फेरि छोरा चाहियो भनेर दबाब नदिएको र दाइजोको कुरा आफ्नो परिवारले नगरेको सञ्जयको दाबी छ । श्रीमान्-श्रीमती बीचको आन्तरिक असमझदारीको कुरालाई लुकाएर अन्य कुरा बाहिर ल्याएको उनले बताए । बबिताको परिवार (मल्ल परिवार) र आफूहरू (थापा परिवार) बीच पटक–पटक सहमतिको प्रयास गर्दा पनि सफल नभएको उनकाे भनाइ छ । 

‘मैले कहिल्यै यातना दिएको छैन, बरू उसैले मलाई नभएको आरोप लगाएर तनाव दिएकी छे,’ सञ्जयले भने ।

यसबारे सञ्जयकी दिदी र आमाले भने प्रतिक्रिया दिन चाहेनन् ।

नेपालमा कानुनतः सुरक्षित गर्भपतनको हक महिलालाई छ । तर, महिलाको मञ्जुरीबिना करकापमा पारेर, झुक्याएर वा धम्क्याएर गर्भपतन गर्न बर्जित गरेको छ ।

लिङ्ग पहिचान गरेर गर्भपतन गर्नु पनि कानुनतः गैरकानुनी कार्य हो ।

'मुलुकी अपराध संहिता, २०७४ को दफा १८८ मा कसैले गर्भपतन गर्न वा गर्भपतन गराउने नियतले वा गर्भ पतन हुन सक्छ भन्ने जानीजानी वा विश्वास गर्नुपर्ने कुनै काम गरी गर्भपतन गराउनु हुँदैन,' उल्लेख छ । 

सोही दफाको उपदफा (२) मा ‘कसैले गर्भवती महिलालाई करकाप गरी वा धम्की दिई वा ललाई फकाई वा प्रलोभनमा पारी गर्भपतन गराउनु हुँदैन,’ भनिएको छ ।

यस्तो अपराधमा न्यूनतम एक वर्ष र अधिकतम पाँच वर्ष जेल सजाय हुने कानुनी बन्दोबस्ती छ ।  
 


Author

थप समाचार
x