समाज

सन्दीपको पक्षमा दरो प्रमाण पेस गरेका छौँः अधिवक्ता रिजाल

इकागज |
कात्तिक १७, २०७९ बिहीबार १७:४७ बजे

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

बुधबारबाट जारी थुनछेक बहस आज पनि नसकिएपछि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवाश पाठक र लभ मैनालीले बहस गरेका थिए । सन्दीपका कानुन व्यवसायीले पीडित किशोरी नाबालिग भएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपविरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकिर गरेका छन् ।


भोलि (शुक्रबार) पीडित किशोरी पक्षका वकील र सरकारी वकीलहरूले बहस गर्नेछन् । आजको बहसपछि सञ्चारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिग नभएको प्रमाण पेस गरेको बताइन् । आज सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि बहस गरेका थिए । उनले पीडित भनिएकी किशोरीको अस्पतालको कागज र संशोधित जन्मदर्ता, बसाईंसराईको कागजबाट पनि किशोरी नाबालिका होइनन् भन्ने पुष्टि हुने दाबी गरिन् ।

बाँकी निर्णयका लागि भने अदालतको फैसला नै कुर्नुपर्ने उनको भनाइ थियो । उनले सन्दीप लामिछानेको पक्षमा आफूहरूले दरो प्रमाण पेस गरेको दाबी गरिन् ।

अधिवक्ता रिजालले शुक्रबार पनि थुनछेक बहस हुने र सरकारी वकील र सन्दीप पक्षधर वकीलले बहस गर्ने बताइन् । सन्दीपविरुद्धको अभियोग जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ भइरहेको छ । बुधबारदेखि नै थुनछेक बहस सुरु भएपनि क्रिकेटर लामिछाने पक्षबाट कानुन व्यवसायी धेरै भएकाले बहस लम्बिएको छ ।


Author

थप समाचार
x