मत माग्न आउँछन्, मतदान गर्न सिकाउँदैनन्
बेदकोट- गाउँ, सहरमा प्रतिनिधि र प्रदेशसभा चुनावको रौनक ह्वात्तै बढेको छ । चुनाव नजिकिएसँगै उम्मेदवार आफ्नो पक्षमा मत माग्न अन्तिम कसरतमा छन् तर मतदाता शिक्षा दिने कुरामा कसैले चासो नदेखाएको मतदाताको गुनासो छ । 'मत माग्न नेताहरू आउँछन् तर मतदान कसरी गर्ने भनेर कसैले सिकाएका छैनन्,' भीमदत्त नगरपालिका–९ का कर्णबहादुर विकले भने, 'मतदाता शिक्षाको कमी छ, गाउँका वृद्धवृद्धा अन्योलमा छन् ।'
बेदकोट नगरपालिका–५ की नन्दा जोशीलाई पनि मतपत्र र कति मत हाल्ने भन्ने कुराको जानकारी छैन । 'मेरो घरमा भोट माग्न चार पटक नेता आए, सबैले मत दिनु भन्छन्, तर कसलाई दिने भनेर द्विविधामा मात्रै परे,' उनले भने, 'आएका कसैले भोट कसरी हाल्ने, कति जनालाई हाल्नुपर्छ, कति मतपत्र हुन्छन् भनेर कसैले पनि सिकाएन ।'
कतिपय मतदातालाई मतपत्रको बारेमा जानकारी नै छैन । त्यति मात्रै होइन, कतिपय मतदाता आफ्नो क्षेत्रका उम्मेदवारबारे समेत अनभिज्ञ छन् । कृष्णपुर नगरपालिका–१ का हरिश भट्टको घरमा मत माग्न उम्मेदवार र राजनीतिक दलका कार्यकर्ता दैनिकजसो आउँछन् तर मतपत्रमा छाप लगाउनेदेखि अन्य निर्वाचनसम्बन्धी विषयमा भने कसैले नसिकाएको उनले बताए ।
'सबैले हामीलाई भोट दिनु मात्रै भन्छन्,' उनले भने, 'मतपत्रमा कसरी र कति ठाउँमा छाप लगाउने ? कसरी लगाउँदा बदर हुन्छ ? कसरी लगाउँदा सदर हुन्छ भन्ने कसैले सिकाउँदैनन् ।' 'सबैले हामीलाई र हाम्रो चिह्नमा मतदान गर्नुहोला' भनेर सरासर हिँड्नेबाहेक केही नगरेको बेदकोटका यम बुढा बताउँछन् ।
'जति हुल मान्छे आउँछन्, भोट माग्दै फर्किन्छन्,' उनले भने, 'यहाँ यसरी मतदान गर्नु भनेर कसैले सिकाएका छैनन् ।' मत माग्ने नेता/कार्यकर्ताले मतदातालाई मतदानको प्रक्रिया, मतपत्र पट्याएर मतपेटिकामा राख्ने, स्वस्तिक छापको प्रयोग लगायतबारे कुनै जानकारी गराएका छैनन् ।
'मतपत्र कस्तो हुन्छ ? कति ठाउँमा मत हाल्ने हो थाहा छैन,' भीमदत्तकी लक्ष्मी डगौँराले भनिन्, 'प्रत्यक्ष र समानुपातिक मत भन्छन्, त्यो के हो ? केही थाहा छैन, हामी मजदुरी गरेर खाने मान्छे । के त्यो कुरा सिक्दै हिँड्ने ?' मतदातामा मतदान प्रक्रियाको बारेमा जानकारी नहुँदा मत बदर हुनसक्ने चिन्ता छ । प्रतिनिधिसभाका तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा एक लाख ४६ हजार आठ सय ४६ पुरुष र एक लाख ५५ हजार छ सय ६२ महिला गरेर कूल तीन लाख दुई हजार ५०९ मतदाता रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया