समाज

मतदानका लागि गाउँ फर्किनेहरू भन्छन् : युवालाई नेतृत्वमा ल्याउनुपर्छ

इकागज |
मंसिर ३, २०७९ शनिबार १५:६ बजे

काठमाडौँ - प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि काठमाडौं उपत्यकाका नाकाहरूबाट घर फर्किने मानिसहरूको चहलपहल तीब्र बनेको छ । भोट हाल्न एक दिन मात्रै बाँकी रहँदा काठमाडौंबाट अन्य जिल्ला बाहिरिने नाकाहरू कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रुहरूको चहलपहल तीब्र बनेको हो । 

मंसिर ४ गते हुने चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले आज काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूको संख्या उल्लेख्य देख्न सकिन्छ । काठमाडौंको कोटेश्वरबाट भोट हाल्न गाउँ फर्किन लागेका अधिकांश मतदाताहरूले यसअघि नेताहरूले आफूले गरेका प्रतिवद्धता पूरा नगरेको र विकासका कामहरू पनि गर्न नसकेको बताए । 


उनीहरूले देश विकासका लागि भन्दा आफ्ना आफन्तहरूको भरपोषण मात्रै गरेको उनीहरूको गुनासो छ । धादिङका लालबहादुर लामा भोट हाल्नको जिल्ला जाने तरखरमा शनिबार बिहानै कोटेश्वरमा गाडी कुरिरहेका थिए । उनले नेताहरूले निर्वाचनका लागि जनतालाई प्रलोभनमा पार्ने तर समग्र देशको विकास गर्न नसकेको बताए । 

त्यस्तै काभ्रेपलाञ्चोकका विजय क्षेत्री अबको निर्वाचनमा सक्षम युवाहरूलाई देश विकासको अवसर दिनुपर्ने बताए । अहिलेका राजनीतिक दल र नेताहरूको काम नगर्ने शैलीप्रति असन्तुष्ट उनले युवाहरूमा नै अब देश विकासको आशा रहेको बताए । 

त्यस्तै रामेछाप मतदानका लागि जान लागेका रामजी खड्का विकास गर्न सक्षम युवाहरूलाई जिताउन आवश्यक रहेको बताए । उनी पनि अहिलेको राजनीतिक दल र नेताहरूप्रति असन्तुष्ट नै थिए । 

त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाका गौरीशंकर गौतमको भनाइ पनि युवाहरूको भन्दा फरक छैन । उमेरले ७० नाघिसकेका उनी युवाहरूले मात्रै अब देश विकास गर्नसक्ने बताउँछन् । 

नेतृत्व गर्ने ठाउँमा युवाहरू गए मात्रै देशले विकास पाउनसक्ने उनको भनाइ थियो । शनिबार बिहान कोटेश्वर क्षेत्रमा न्युज एजेन्सी नेपालको टिम पुग्दा उल्लेख्य मात्रामा मानिसहरू मतदानका लागि गाउँ फर्किने तयारीमा गाडी कुरिरहेका थिए । 

केही राजनीतिक दलका नेताहरूले पठाएको सवारीसाधनमा गाउँ जान लाग्दै थिए भने कोही आफ्नै खर्चमा मौलिक अधिकार मतदानका लागि गाउँ फर्किने तयारीमा देखिन्थे । 

अधिकांश जनताहरूले यसपटक विकासका कामलाई अघि बढाउनसक्ने नेतृत्वको खोजी गरेका छन् । आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली बत्ती लगायतका विकासका कामहरू अघि बढाउन आग्रहसमेत गरेका छन् । 
 


Author

थप समाचार
x