समाज

मुख्यमन्त्री कार्यालय अगाडि जन्ती बोकेको गाडीमा आगलागी

सुवास कर्ण |
बैशाख ११, २०७८ शनिवार २२:९ बजे

जनकपुरधाम : धनुषाको जनकपुरधामस्थित प्रदेश-२ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय आगाडि गुडिरहेको गाडीमा अचानक आगलागी भएको छ ।जनकपुरधाममा गुडिरहेको गाडी सडकमा रहेको डिभाइडरमा ठोक्किँदा आगलागी भएको हो । 

शनिवार साँझ ७ बजे  प्रदेश ३–०१–०२४ च ८९१८ नम्बरको माइक्रो डिभाइडरमा ठोकिएर दुर्घटनाग्रस्त भएपछि आगो लागेको हो । गुडिरहेको गाडी भित्र ग्यासका सिलिण्डरहरु रहेको र डिभाइडरमा ठोक्किँदा आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन।


दुर्घटनामा ठुलो मानवीय क्षति नभएपनि गाडीको धेरै भाग जलेको छ । प्रवक्ता मिश्रका अनुसार जन्ती लिएर धनुषाको महेन्द्रनगरबाट युदुकुहा गईरहेको सो गाडी भित्र सवार रहेका १३ जना मध्ये दुईजना घाइते भएका छन् ।

गाडीमा आगलागी भएको १५ मिनेटमै प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटना पश्चात गाडीका चालक फरार रहेकोले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x