समाज

कोरोना संक्रमण

रुपन्देहीका सबै विद्यालय बन्द, सवारीमा जोरबिजोर लागू

इकागज |
बैशाख १२, २०७८ आइतबार १८:१३ बजे

बुटवल  :  कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देहीमा १६ वटै स्थानीय तहका विद्यालय बन्द गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको सुरक्षा पदाधिकारी तथा स्थानीय तहका प्रमुख, अध्यक्ष एवम प्रतिनिधिहरूको बैठकले सबै स्थानीय तहका सबै शिक्षण संस्था बन्द गरेको निर्णय गरेको हो ।

शैक्षिक संस्थाहरूले प्रत्यक्ष भौतिक उपस्थितिमा गरिने शिक्षण सिकाइको सट्टा वैकल्पिक माध्यमबाट शिक्षण सिकाईको व्यवस्था गर्न भनेको छ । यसको साथै सबै किसिमका पूर्व निर्धारित परीक्षासमेत हाललाई स्थगन गर्न बैठकले निर्णय गरेको छ ।


त्यसैगरी रुपन्देहीमा सञ्चालन हुने सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । बैशाख १४ गते मंगलवारदेखि जिल्ला भित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो ।

बैठकमा सबै स्थानिय तहका अध्यक्ष प्रमुख एवम प्रतिनिधिहरुले कोरोना सम्बन्धी जनचेतनामूलक कार्यक्रम वडा र टोल स्तरमा गर्ने प्रतिवद्धता जनाएको देवदहका नगरप्रमुख हिरा केसीले बताए ।

यस्तै बैठकले प्रत्येक पालिकामा कम्तिमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्नसमेत निर्देशन गरेको छ । अहिले रहेका सामुदायिक आइसोलेसन र होम क्वारेन्टाइनहरुको क्षमता विकास गरी पूर्व तयारी अवस्थामा रहनसमेत बैठकले आग्रह गरेको छ ।


Author

थप समाचार
x