समाज

घर बनाइदिने प्रलोभनमा गरिब परिवारको लाखौँ ठगी

इकागज |
मंसिर १९, २०७९ सोमबार २०:३७ बजे

लुम्बिनी- रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन् । ‘गरिब निर्माण सहयोगदाता’ नामक एक गैरसरकारी संस्थाको नाममा सक्रिय एक समूहको प्रलोभनमा परी उनीहरू ठगिएका हुन् ।

त्यही समूहको प्रलोभनमा परेका ८० वर्षीय मंहगु हरिजनको जस्तापाताले छाएको घरमा बस्ने योजना पूरा हुन सकेको छैन । ज्येष्ठ नागरिक भत्ता र मेहनत मजदुरीबाट बचाएको रकम अब उनीसँग छैन । थोरै रकममा घर बनाइदिने प्रलोभन दिएर ५४ हजार नगद बुझी लगेका व्यक्ति उनले खोज्दै गरेको आठ महिना बितेको छ ।


त्यसैगरी कोटहीमाई गाउँपालिका–१, सिपवाकी ६० वर्षीाय जमीरुन निसाको अनुहारमा कुनै चमक छैन । थोरै खर्चमा पक्की घर पाउने प्रलोभनमा फसकी निसाले सम्मरीमाई–७ भैसागहनका मकसुद मुसलमानलाई चारकोठे पक्की भवन बनाइदिन दिएको एक लाख आठ हजार फिर्ता पाउने काँटछाँट छैन ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवारका प्रेमलाल कोहारको हाल पनि उस्तै छ । गरिबीले जेलिएका कोहारले छिमेकी सँग रु एक लाख ५५ हजार ऋण लिएर मकसुदलाई बुझाएको बताउँछन् । कोहारले मकसुदलाई बुझाएको सो रकमको न उनीसँग कुनै रसिद छ न कुनै कागज प्रमाण ।

कोटहीमाई गाउँपालिका– १ परस्पुरका मंहगुले पाइपाइ जोडेर राखेको कमाइ ठगिएको सुनाए । उनले भने, `बुढ्यौलीमा ओतका लागि जस्ताको घर बनाउने तथा औषधि उपचार खर्चका लागि जम्मा गरि राखेको रु ५४ हजार सम्मरीमाई–५ खखडउरका बरखु हरिजनले प्रलोभन दिएर लगे ।`
 
उनका अनुसार पहिलो पटक सम्मरीमाई–७ भैसागहन (केराहाडिह) मा भेटिएका बरखुले पैसा बुझाउनुस् एक महिना भित्र घर बनाएर दिन्छु भनेको आज करिब आठ महिना बितिसक्दा पनि बनाइदिएका छैनन् । `न त रकम नै फिर्ता गरेका छन, अहिले त भेट्नै छोड्नुभयो, फोन गर्दा, बाहिर छु भन्छन्`, गहँभरि आसु पार्दै उनले व्यथा सुनाए । 

सिपवाकी जमीरुन निसाले भनिन्, `जस्तापाताको सानो टहरामा बासोबास रहेको मेरो परिवारका लागि एक महिनाभित्रै सउदीको एक गरिब निर्माण संस्थाले पक्की घर बनाइदिने आश्वासनपछि खुशीको सीमा थिएन र नातेदारकहाँबाट ब्याजमा पैसा खोजेर बुझायौँ । करिब आठ महिना बित्यो न घर बन्न सक्यो न पैसा नै फिर्ता पायौँ ।` 

उनका अनुसार मकसुदलाई भेटदा कहिले रकम फिर्ता गर्ने र कहिले घर बनाइदिने आश्वासन दिन्छन् । दुई थान फोटो, नागरिकताको फोटोकपी र नगद रकम बुझाएको कुनै रसिद वा कागज प्रमाणसमेत नपाएको उनले बताए । 

महिलवार गाउँका माया कुर्मी, गुडिया लोध र पंचम हरिजन समेतले चारकोठे पक्की घर बन्ने प्रलोभनमा ऋणजम गरी जनही रु एक लाख ५५ हजारका दरले अलीलाई नगद रकम बुझाएको छ महिना बढी बित्न लाग्यो तर न घर बन्नसक्यो न त उनीहरूले बुझाएको रकम फिर्ता पाए । 

शान्ति, सुरक्षा र आवश्यक कारवाहीका लागि माया कुर्मी, गुडिया लोध र पंचम हरिजनसमेतले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा निवेदन दिएका छन् । मकसुद मुसलमानले बाहिर मुलुक सउदी अरबबाट विदेशी प्रोजेक्ट आएको र गरिब परिवारका लागि निःशुल्क घर बनाइदिने भन्दै जनही एक लाख ५५ हजारका दरले असुल गरेको निवेदनमा उल्लेख छ ।

निवेदनमा लेखिएको छ, `निजले झुठो आश्वासन दिने गरेको तथा आजको मितिसम्म पनि केही कार्य व्यवहार नभएको र उनी विदेश जाने योजनामा रहेको बुझिएकोले विदेश जान नपाउने गरी व्यवस्था मिलाइदिन तथा आवश्यक कारवाहीका साथै दिइएको रकम फिर्ता दिलाउन र निजले गाली गलौज र धाक धम्कीसमेत दिएकाले शान्ति, सुरक्षा र जिउधनको रक्षा गरि पाउन अनुरोध छ ।`

त्यस्तै महंगुले रकम फिर्ता गराई पाऊँ भन्दै सम्मरीमाई–७ बेतकुइयाँस्थित मेलमिलाप केन्द्रमा निवेदन दिएको पनि महिना दिन बित्न लागेको छ । मेलमिलाप केन्द्रका संयोजक राजेन्द्रप्रसाद लोधले बरखुलाई छलफलका लागि हाजिर हुन आउने पत्र बुझाइसकिए पनि अटेर गरी छलफलमा नआएको बताए । 

यता पैसा असुलीको आरोप लागेका बरखु हरिजनलाई उहाँले काम गर्ने संस्थाको नाम समेत थाहा छैन । उनले भने, `मैले रकम मात्र असुलेको छु घर निर्माण संस्था दर्ता भए नभएको बारे कुनै जानकारी छैन । मेरो अगुवा अरु कोही हो । केही दिनमा सबैको रकम फिर्ता दिने छन् ।` 

मकसुदले रकम, नागरिकताको प्रतिलिपि र फोटो संकलन गर्न तथा जग्गा नापजाँच गर्न केही अस्थायी कर्मचारी राखेका छन् । एक कर्मचारीलाई दैनिक रु एक हजार ज्याला तथा पाँच सय चियानास्ता खर्च दिने गरेका छन् । कर्मचारीलाई ‘गरीबी निर्माणको सहयोगदाता’ नामक संस्थाको परिचयपत्र समेत दिएका छन् । तिनै कर्मचारीमध्येका एक हुन बरखु हरिजन । मकसुदले यसरी विभिन्न व्यक्तिबाट करिब रु दुई करोड असुल गरिसकेको र सोका लागि प्रक्रिया मिलाउन उनी साउदी अरब जान लागेको बरखुले बताए ।
 
यस सम्बन्धमा संस्थाका मुख्य व्यक्ति अरसद अली भएको र उनी साउदी अरबमा रहेको मकसुदले बताए । संस्था दर्ता भए नभएको बारे संस्थाका अध्यक्षलाई मात्र थाहा रहेको र आफूलाई कुनै जानकारी नरहेको मकसुदको भनाइ छ ।  

मकसुदले करिब ६०–६५ जनासँग मात्र पैसा बुझेको बताए । उनले भने, `समान्य निर्माण खर्च सबैसँग असुल गरेको छु, घर नबने सबैको रकम फिर्ता दिन्छु । विस्तृत जानकारीका लागि संस्थाका प्रमुख केही दिनमा नेपाल आउँदै हुनुहुन्छ, उहाँसँग मात्र सोध्नु होला । मैले केही भन्दैन ।`

माया कुर्मीलगायतले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आवश्यक कारवाहीका लागि पठाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट सम्बन्धित इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेको पत्र कारवाहीको प्रक्रियामा रहेको इप्रका मर्चवारले बताएको छ । प्रहरी पटक–पटक घरमा जाँदा पनि मकसुद मुसलमानलाई भेट्न नसकिएको इप्रका मर्चवारका प्रमुख तथा प्रहरी निरीक्षक तेजबहादुर खत्रीले बताए । रासस


Author

थप समाचार
x