नेपालमा घट्यो बाल मृत्युदर
काठमाडौँ- नेपालमा पाँच वर्षको अवधिमा बाल मृत्युदरमा घटेको पाइएको छ । हालै सार्वजनिक गरिएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले नेपालमा पाँच वर्षमा बाल मृत्युदर घटेको पाइएको बताएकाे हो ।
सर्वेक्षणअनुसार नेपालमा प्रति एक हजारमा ३३ जना बाल मृत्युदर भएको उल्लेख गरिएको छ । यसअघि सन् २०१६ गरिएको सर्वेक्षणमा प्रति एक हजारमा ३९ जना बाल मृत्युदर रहेको थियो । नेपालमा सन् २०११ मा प्रति एक हजारमा ५४ जना, सन् २००६ मा ६१ जना, सन् २००१ मा ९१ जना र सन् १९९६ मा ११८ जना बाल मृत्युदर रहेको थियो ।
पूर्ण स्तनपान गराउनेको सङ्ख्या घट्दै
यस्तै सर्वेक्षण प्रतिवेदनले नेपालमा हाल ५६ प्रतिशत आमाले मात्रै शिशु जन्मिएको पाँच महिनासम्म पूर्ण स्तनपान गराउने उल्लेख गरेको छ । सन् २०१६ को सर्वेक्षण प्रतिवेदनमा नेपालमा पूर्ण स्तनपान गराउने आमाको प्रतिशत ६६ प्रतिशत रहेको उल्लेख थियो । सन् २०११ को सर्वेक्षणमा ७० प्रतिशत, सन् २००६ को सर्वेक्षणमा ५३ प्रतिशत, सन् २००१ को सर्वेक्षणमा ६८ प्रतिशत र सन् १९९६ को सर्वेक्षणमा ७५ प्रतिशतले पूर्ण स्तनपान गराउने गरेका थिए तर अहिलेको सर्वेक्षणमा विगतभन्दा १० प्रतिशतले महिलाले कम स्तनपान गराएको पाइएको छ ।
पुड्कोपनमा सुधार
यस्तै नेपालमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा हुने पुड्कोपनमा उल्लेखनीय सुधार आएको छ । स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकामा हुने पुड्कोपनमा ११ प्रतिशतले कमी आएको छ । सर्वेक्षणअनुसार पुड्कोपना बालबालिकामा हुने झरेर २५ प्रतिशतमा आएको छ । जबकी पाँच वर्षअघि (सन् २०१६) को यही सर्वेक्षणले नेपालमा पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिकामा पुड्कोपन रहेको उल्लेख गरेको छ ।
विगतमा नेपालमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनमा सन् २०११ मा ४१ प्रतिशत सन् २००६ मा ४९ प्रतिशत, सन् २००१ र १९९६ मा समान ५७/५७ प्रतिशत रहेको छ । नेपालमा गरिएको सर्वेक्षणमा बालबालिका हुने पुड्कोपनमा क्रमशः घट्दै गएको देखिन्छ ।
सबैभन्दा धेरै पुड्का बालबालिका कर्णाली प्रदेशमा रहेका छन् । कर्णालीमा अझै पनि ३६ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या छ । पाँच वर्षअघि कर्णालीका ५४.५ प्रतिशतमा पुड्कोपन रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया