समाज

जालसाजी आरोपमा वडा अध्यक्षविरुद्ध मुद्दा दायर

इकागज |
मंसिर २६, २०७९ सोमबार १४:४९ बजे

रुपन्देही । तिलोत्तमा वडा नं ११ का अध्यक्ष विष्णुबहादुर बराल क्षेत्रीविरुद्ध रुपन्देही जिल्ला अदालतमा जालसाजी गरेको आरोपमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग गरेको भन्दै पीडित पक्षले जनप्रतिनिधिलाई विपक्षी बनाई अदालतमा मुद्दा दर्ता गरेका हुन् ।

वर्षौंदेखि पति, सासूससुरा र देवरले अनुचित व्यवहार गरी बेवास्ता गरेको तथा मानसिक यातना दिएकाले एकासँगोलमा बस्न नसकी स्वतन्त्रपूर्वक अलग बस्न श्रेयस्कर ठानी पीडितले २०७७ पुसमा पतिलगायतलाई विपक्षी बनाई अंश सम्बन्ध विच्छेद मुद्दा दायर गरेकी थिइन् ।


अदालतमा अंश मुद्दा विचाराधीन रहेको अवस्थामा पीडित महिलाको अंश हक लाग्ने जग्गामा कम सम्पत्ति दिने र अंश हकबाट वञ्‍चित गराउने दूषित मनसायका साथ वडा अध्यक्षले विपक्षीसँग मिलेमतो गरी कलुषित नियतका साथ दुराशयपूर्ण तवरले जानीजानी झुठ्ठा व्यहोरा उल्लेख गरी दुईवटा फरकफरक व्यहोराको लिखित पत्र बनाई जिल्ला अदालतलाई पेस गरेको भेटिएको छ ।

२०७७ पुसमा विपक्षीको नाममा कुल एक कठ्ठा जग्गा रहेको भनी तत्कालीन वडा अध्यक्ष मुक्तिनारायण चौधरी थारुले सिफारिस गरेका थिए । २०७८ साल चैतमा अदालतले विपक्षीको जिम्मामा दर्ता रहेका चलअचल सम्पत्तिको तायदाती विवरण माग गर्दा विपक्षीले उक्त जग्गा देखाएका थिएनन् । पछि पीडितले उक्त तायदाती उपर उजुरी दिएपछि २०७९ भदौमा अदालतले वडा कार्यालयलाई उक्त जग्गाको विवरणको बारेमा जवाफ माग गरेको थियो ।

अदालतको पत्रको जवाफ दिने सिलसिलामा वडा अध्यक्षले एउटै चलानी नम्बर र मिति राखी दुईवटा फरकफरक व्यहोराको लिखित पत्र बनाएर पठाएको हो । अदालतलाई पठाएको पत्रमा विपक्षीको नाममा जम्मा एघार धुर जग्गा रहेको भनी लेखिएको छ । उक्त व्यहोराको जवाफ अदालतलाई पठाएको थाहा पाएपछि पीडित र उनका परिवारका सदस्य वडा कार्यालयमा गई उक्त पत्रको कार्यालय प्रति हेर्न भनी माग गरेका थिए । सोही क्रममा वडा कार्यालयले आफूले कार्यालयमा राखेको पत्रमा विपक्षीको नाममा एक कठ्ठा जग्गा भोगचलनमा रहेको भनी उल्लेख गरेको देखिएको हो ।

पीडित महिलाको तर्फबाट मुद्दा हेर्दै आएका कानुन व्यवसायीले स्थानीय सरकारका जनप्रतिनिधिले आफ्नो पदीय मर्यादा विपरीत अमुक मुद्दाका कुनै पक्षलाई फाइदा र अर्को पक्षलाई बेफाइदा गराउने अभिप्रायले जालसाज गर्नु निन्दनीय रहेको बताए । स्थानीय तहको निर्वाचन सम्पन्न भएको ६ महिना नबित्दै जनप्रतिनिधिविरुद्ध मुद्दा पर्नु स्थानीय सरकारले सम्पादन गर्ने काम गर्ने प्रवृत्तिमाथि नै प्रश्न उठ्ने उनको भनाइ छ ।

वडा अध्यक्षले विपक्षीलाई लाभ पुर्‍याउने उद्देश्यले जग्गाको सही सूचना लुकाई अदालतलाई नै गुमराहमा राखी गलत व्यहोराको पत्र पठाई जालसाजी गरेको स्पष्ट भएको हो । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा क्षेत्री नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । वडाले अदालतलाई पत्र पठाई जवाफ पेश गरेकाे छ ।

वडाले अदालतलाई पठाएकाे पत्र

वडा कार्यालयमा राखिएकाे पत्र


Author

थप समाचार
x