मेलम्चीको पानी एक महिनाभित्र भक्तपुर नगर क्षेत्रमा
तस्बिर : भक्तपुर नगरपालिका
भक्तपुर : खानेपानी वितरणको अर्को व्यवस्था नभएसम्म मेलम्चीको पानी पूरानै वितरण प्रणालीमार्फत एक महिनाभित्र भक्तपुरनगर क्षेत्रमा वितरण गर्न सहमति भएकाे छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा साेमबार बसेकाे बैठकले मेलम्चीकाे पानी वितरण गर्न लिखित सहमति गरेको हो ।
बैठकमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रमुख कार्यकारी निर्देशक एवं इन्जिनियर डा. सञ्जीवबिक्रम राणा, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी अधिकृत मिलनकुमार शाक्य, आयोजना कार्यान्वयन परियोजना (पीआईडी) का प्रोजेक्ट इन्जिनियर लोकेन्द्र यादव, आयोजना निर्देशक कमलराज श्रेष्ठ, केयुकेएल भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालयलगायतकाे बैठकले साे निर्णय गरेकाे हाे ।
बैठकले भक्तपुर नगर क्षेत्रमा मेलम्चीको पानी वितरण नहुन्जेलसम्म बोडेबाट वितरण गर्दै आएको खानेपानी समय बढाइ वितरण गर्ने निर्णय समेत गरेकाे छ । साथै भक्तपुर नगरपालिका क्षेत्रमा खानेपानी वितरण प्रणालीमा विद्यमान चुहावटहरू नियन्त्रण गर्न काठमाडौं उपत्यका खानेपानी लि., कामठाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र भक्तपुर नगरपालिकाले संयुक्त पहल गर्ने निर्णय समेत गरेकाे हाे ।
बैठकमा नगर प्रमुख प्रजापतिले सुख्खायामको सुरुवातसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट घर–घरमा धाराबाट वितरण गर्ने पानीको परिमाणमा कमी आएकाेले नगरबासीहरुलाई खानेपानीको समस्या भएकाे उल्लेख गर्दै नपाले ३ वटा ट्यांकरमार्फत निःशुल्क रुपमा खानेपानीको वितरण गरिरहेको सुनाए ।
बैठकपछि भक्तपुरको खानेपानी ट्यांकी स्थल कटुञ्जेको स्थलगत निरीक्षण समेत गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया