समाज

कोठाको सामान सस्तोमा राखिदिने ‘घरपट्टी’

सृजना खड्का |
बैशाख १४, २०७८ मंगलबार १९:४२ बजे

काठमाडौँ  : गत वर्ष कोभिड कहर बढ्न थालेपछि मानिसहरू सहर छाडेर गाउँ पसे । तर, झिटिझाम्टा भने कोठामै छोडे । घरि लकडाउन भयो, घरि निषेधाज्ञा । मानिसहरू महिनौँ गाउँमै अड्किए । लकडाउन जति लम्बियो, कोठाभाडा उति नै थपियो । सहर फर्किने बेला भाडा तिर्नकै लागि पैसाको बिटो बोकेर आउनुपर्ने अवस्था आयो । हुनेले तिरे, नहुनेले ऋणको भारी बोके । 

सरकारले बिहीबारदेखि निषेधाज्ञा लगाउने भएको छ । यो निर्णयसँगै पुरानै दशा दोहोरिने चिन्ता धेरैलाई छ । यही समस्यालाई केही भए पनि राहत दिन आएको छ, साहुजी डट कम । यो अवधारणा बर्दियाका कबिर काफ्का र पाँचथरका पवन पोखरेलको हो । उनीहरू भन्छन्, ‘तपाईं घरमा चिल्ड बस्नुहोस्, तपाईंको सामान अब कम भाडामा हामी सुरक्षित राखिदिन्छौँ ।’


लकडाउनको सबैभन्दा ठूलो चिन्ता फोकटमा भाडा तिर्नु हो । लामो समयदेखि बचत गरेको पैसा महामारीको बेला भाडामा खन्याउनुपर्दा जो कोहीको मन कटक्क हुन्छ । अघिल्लो लकडाउनमा कबिरका धेरै साथीको मन त्यसरी नै कटक्क भएको थियो । उनी जसलाई भेट्थे यो समस्या सुन्नुपर्थ्यो । उनका केही साथीभाइ त अहिलेसम्म लकडाउनमा गाउँ जादा तिर्न नसकेको डेराभाडा तिर्दैछन् । 

‘मेरा साथीहरू मात्रै होइन कोठाको भाडा तिर्न नसकेर धेरै मानिस लाखौँ ऋणमा छन्,’ कबिर भन्छन्, ‘उनीहरूको समस्यालाई कसरी समाधान गर्ने भनेर सोच्दासोच्दै यो कन्सेप्ट दिमागमा आयो ।’ यसलाई उनीहरू दैनिक जीवनमा आउने समस्याको समाधान गर्ने सानो कोसिस मान्छन् ।उनीहरूले यो आइडिया लन्च गरेको जम्मा एक हप्ता भयो । निषेधाज्ञा सुरु भएपछि फोन उठाउन भ्याइनभ्याइ छ । दुई-तीन दिनमै उनीहरूलाई एक डेढ सय कल आइसक्यो । फेसबुक, इन्स्टाग्राम, भाइबरजस्ता सोसल मिडियामा सोधपुछ गर्नेका संख्या पनि उत्तिकै छ । 

अरुको सामान जिम्मा लिनु आफैँमा जोखिमपूर्ण काम हो । अरुलाई समान जिम्मा लगाउने काम पनि आफैँमा जोखिमपूर्ण छ । तर, त्यो जोखिमलाई ‘साहुजी’ले व्यवस्थापन गर्छ । कसरी ? यसका लागि उनीहरूले खाली भएका होस्टल रोजेका छन् । काठमाडौँको बानेश्वर, घट्टेकुलो, अनामनगर, सिनामंगल, सेतोपुलमा केही होस्टल उनीहरूले भाडामा लिएका छन् । एक पिकअप भ्यान सामान बराबर महिनाको तीन हजार लिन्छन् । सामान थोरै छ भने तीन हजारभन्दा कम पनि लाग्न सक्छ । सुरक्षाको हिसाबले जोखिमपूर्ण हुने भएकाले बहुमुल्य धातु र नगद उनीहरू लिँदैनन् ।

उनीहरूलाई महिनाको प्रत्येक २५ गतेभित्र अनलाइन पेमेन्ट गर्नुपर्छ । पेमेन्ट ढिला भए फाइन लाग्छ । सामान राखेको तीन महिनासम्म सम्पर्क वा प्रतिक्रिया नआए सामान लिलाम हुन्छ । फुट्ने समान जस्तै : टिभी, माइक्रोवेभ, फ्रिज जस्ता सामानलाई छुट्टै राखिदिन्छन् । त्यसका लागि एक दुई सय बढी पैसा लाग्छ । तर, केही नोक्सान भयो भने साहुजीले बेहोर्छ । यी सबै कुरा सेवाग्राहीले एउटा ‘सम्झौतापत्र’मा साइन गर्नुपर्छ । आफ्नो सामान राखेपछि उसले एउटा टोकन पाउँछ । त्यही टोकन लिएर पछि सामान फिर्ता लिन पाइन्छ  । 

अहिले उनीहरूले फोन र सामाजिक सञ्जालबाट बुकिङ लिइरहेका छन् । मे फस्ट अर्थात् मजदुर दिवसको दिन साहुजीडटकम र साहुजी एपको औपचारिक रुपमा सार्वजनिक गर्दैछन् । त्यसमा सर्च गरेर आफूलाई चाहिएको सेवा बुक गर्न सकिन्छ । साहुजीले सामान भाडामा राखिदिनेबाहेक अन्य सेवा पनि दिन्छ । जसमा क्लिनिङ, कारपेन्टिङ, प्लम्बिङ, इलेक्ट्रिसियन जस्ता एक सयभन्दा बढी सेवा पर्छन् । 

कबिरका अनुसार साहुजी खोलेको तीन वर्ष भयो । तर, अफिस कोठा लिएरै काम गर्न थालेको भने बल्ल एक वर्ष हुँदै छ । ‘पहिला एउटा कन्सेप्टमा काम गर्दा निकै घाटा बेहोर्नुपर्‍यो,’ उनी भन्छन्, ‘परिवारले लगानी गरेको भएर उहाँहरूको विश्वास पनि गुमाइयो । अहिले आफैँ जोखिम मोलेर जे पर्ला-पर्ला भन्दै यो कन्सेप्टमा हात हालेका छौँ ।’ 

केहीले उनीहरूलाई ताइँ न तुइँको काम गरेको भनेर गिज्याइरहेका छन् । धेरै जना भने उनीहरूको साथमा छन् । सटरमा महँगो भाडा तिरेर पसल खोल्नेहरूले पनि उनीहरूसँग सेवा मागिरहेका छन् । ‘केहीलाई त हामीले सेवा पनि दिने सोचेका छौँ’ कबिर भन्छन्, ‘पसलको सामान बेचेर पनि भाडा तिर्न नपुग्ने भयो भन्ने जस्ता गुनासा सुनेपछि हामीले नाइँ भन्न सकेका छैनौँ ।’ 

उनीहरूको टिममा अहिले ६ जना छन् । तर, सर्भिस प्रोभाइडरहरू धेरै छन् । उनीहरूसँग २० वटा पिकअप भ्यान स्ट्यान्ड बाइ हुन्छ । त्यो गाडी सेवाग्राहीकहाँ उनीहरू आफैँले पठाउँछन् । कबिर सर्वनाम थिएटरका आर्टिस्ट पनि हुन् । उनलाई सधैँ केही नयाँ र क्रियटिभ काम गर्न मनपर्छ । बिजनेसलाई पनि उनी एकप्रकारको आर्ट मान्छन् । भन्छन्, ‘यो पनि एउटा क्रियटिभ काम हो ।’

उनलाई मानिस ‘स्किल’, ‘प्रडक्ट’ र ‘आर्ट’ बेचेर बाँच्छ भन्ने लाग्छ । ‘कसैले बेचेको स्किल मैले किने भने ऊ मेरो साहुजी हो ,’ उनी भन्छन्, ‘एउटा डाक्टर छ, अर्को प्लम्बर छ । डाक्टरको घरमा धारा बिग्रेमा उसले प्लम्बरलाई फोन गरेर बोलाउँदा प्लम्बर डाक्टरको साहुजी हो । भोलि प्लम्बर बिरामी भयो भने डाक्टर उसको साहुजी हो । यहाँ कोही कसैको साहुजी छैन । हामी सबै एकअर्काका साहुजी हौँ ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x