असुरक्षा बढेको भन्दै अत्तरियाका सुनचाँदी व्यवसायीहरूले गरे पसल बन्द
कैलाली - असुरक्षा बढेको भन्दै अत्तरियाका सुनचाँदी व्यवसायीहरूले पसल बन्द गरेका छन् । दिनदहाडै प्रहरीकै अगाडि गोली प्रहारगरी व्यवसायीमाथि लुटपाट भएको भन्दै उनीहरूको पसल बन्द गरेका हुन् । सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष कमलप्रसाद लामिछानेले व्यवसायीहरूमा त्रास बढेको र सुरक्षाको अनुभूति नभएको भन्दै व्यवसाय बन्द गर्नुपरेको बताए ।
दिनदहाडै गोली प्रहारगरी सुन लुटिएको घटना सामान्य नभएको बताउदै अध्यक्ष लामिछानेले घटनामा संलग्नको पहिचानगरी पक्राउ नगरेसम्म व्यवसायीहरू सुरक्षित नहुने बताए । उनले अहिले एकजनालाई परेको उक्त घटना पछि अरु व्यवसायीहरूमाथि समेत हुन सक्ने भन्दै सबैलाई सतर्क रहन आग्रह समेत गरे ।
सोमबार साँझ अत्तरियामा सुनचाँदी व्यवसायीमाथि ईलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेशको सशस्त्र प्रहरी मुख्यालयनजिकै गोली प्रहार भएको थियो ।
गोदावरी नगरपालिका १ धनगढी रोडमा रहेको न्यु घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम (सुनार)माथि मोटरसाइकलमा आएका दुईजनाको समूहले गोली प्रहार गरेको थियो । खततामुक्त रहेका विकासको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ । उनको हातमा गोली लागेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले पसल बन्द गरेर डेरातिर जाँदै गरेका विकासलाई गोदावरी नगरपालिका २ शसस्त्र प्रहरीको मुख्यालय अगाडी पूर्वबाट पश्चिम तर्फ आउदै गरेको नम्बर नखुलेको सेतो कलरको अपाची मोटरसाइकलमा आएका दुईजना व्यक्तिले गोली हानेर उनीसँग रहेको तयारी सुनका करिब ३२/३३ तोला सुन लुटेर फरार भएको बताए ।
प्रहरीले लुटेराहरूको पहिचानका लागि सुनचाँदी पसलदेखि गोली प्रहार भएको स्थानका सिसिटिभी क्यमेराको फुटेजको समेत अनुसन्धान गरिरहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया