महन्त वैष्णवलाई थप चार दिन थुनामा राख्न आदेश
जनकपुरधाम - किर्ते जालसाजी आरोपमा पक्राउ परेका महोत्तरीको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई अनुसन्धानका थप ४ दिन थुनामा राख्न आदेश दिइएको छ । जिल्ला प्रहरी कार्यालयको अनुरोधमा जिल्ला अदालत रूपन्देहीले थप चार दिन थुनामा राख्न आदेश दिको हो ।
महन्थ वैष्णवले रुपन्देही जिल्ला अवस्थित मेगा बैंक शाखाबाट ७० लाख किर्ते गरी झिकेको आरोपमा लक्ष्मी नारायण मठबाट आइतबार महोत्तरीबाट पक्राउ गरिएको थियो । रूपन्देहीको सिद्धार्थनगरमा रहेको मन्दिरको जग्गा गैरकानूनी रूपमा बेचेको आरोपमा जिल्ला प्रशासन कार्यालय रूपन्देहीले उनको नाममा रहेको बैंक खाता रोक्का गरेको थियो ।
बैङ्कमा रोक्का रहेको खाता सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको कार्तिक ४ गते किर्ते सहीछापसहित कागजात पेश गरी खाता फुकुवा गराई ७० लाख १८ हजार ५ सय १० रुपैयाँ ३५ पैसा झिकेको आरोप महन्त वैष्णवमाथि छ ।
उनले सो रकम जनकपुरधामका श्रवण यादवको नाउँमा ट्रान्सफर गरेका थिए । रुपन्देही जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा रूपन्देही प्रहरीले महोतरी प्रहरीलाई वैष्णवलाई पक्राउ गर्न पत्राचार गरेको थियो ।
रुपन्देही जिल्लामा रहेको मटिहानी स्थानको रामजानकी कुट्टीको करोडौँ मूल्य पर्ने जग्गा बिक्री गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका अन्य निकायहरूमा मुद्दा परेपछि महन्थ दासको नाउँमा रहेको बैङ्क खाता तथा अन्य सम्पत्तिहरू रोक्का भएको थियो ।
यसअघि गुठी संस्थानले महन्थ दासको महन्थ पदलाई खारेज गरेको भए पनि उनी अदालतबाट स्थापित भएका थिए । महन्थ दासले गुठी संस्थानको सैकडौ विघा जग्गा बिक्री गर्नुका साथै पछिल्लो पटक जनकपुरधामको दशरथ मंन्दिर परिसरको जग्गा दुई जना चिकित्सकलाई बिक्री गरेपछि अहिले मंन्दिर नै कुरुप बनेको छ ।
अहिले महन्थले जनकपुरधामको दशरथ मंन्दिर परिसरको जग्गा बिक्री गरेपछि त्यसमा भवन निर्माण भएको छ । डा. जामुन प्रसाद सिंहको नाउँमा सो भवनमा क्लीनिक पनि सञ्चालनमा रहेको छ । त्यसको विभिन्न पक्षवाट विरोध हुँदै आइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया