समाज

डोर्‍याउँदै राडो नेपाल

बालबालिका आफैँ बाल संरक्षण अभियानमा

इकागज |
पुस ६, २०७९ बुधबार १२:५९ बजे

साथी शिक्षाको रूपमा आफ्नो अनुभव आदान प्रदान कार्यक्रममा युवाहरू ।

हेटौँडा - प्रतिक्षा कार्की, उनी आफैं किशोरी हुन्, तर अन्य किशोरी र युवा महिलाहरूको बिचमा उनी ‘अभिभावक’ बनेकी छिन् । विभिन्न हिंसाबाट आफू कसरी संरक्षित हुने भन्नेबारे राम्रो ज्ञान भएकी प्रतिक्षा साथी समूहमा यसैबारे जानकारी दिन्छिन् । 'पढाइ, सीप तथा व्यक्तित्व विकाससँगै आफू र आफ्ना साथी सर्कलमा जानको कुराहरू शेयरिङलाई महत्व दिने गरेको छु' उनले भनिन् ।

रेजिना ढकाल पनि किशोरी हुन् तर उनलाई किताबी शिक्षासँगै संघीय नेपालको कुन कार्यालयको काम कर्तव्य र अधिकार के कस्तो छ भन्ने बारे राम्रो ज्ञान छ । गल्स टेक ओभर कार्यक्रमअन्तरगत जिल्ला समन्वय समितिको प्रमुखको पदभार ग्रहण गरेपछि रेजिनाको समग्र जिल्लामा सुधार गर्नुपर्ने अवस्थाबारे मन्तव्य दिइन् । आफ्नो मन्तव्यमा रेजिनाले जिल्लाको सबै स्थानीय तहहरूमा पूर्णखोप, पूर्ण सरसफाई, पालिका स्तरीय बालउद्यान, युवा खेल मैदान, नेतृत्व विकास, बालश्रमदेखि बालअधिकारको सवाल उठाइन् । 


रेजिना र प्रतिक्षा उदाहरण मात्रै हुन् । मकवानपुर जिल्लाका १५८ जना यस्ता रोल मोडेल युवाहरू तयार  गरिएको छ । बालबालिकाहरूलाई भविष्यको राष्ट्रिय नेतृत्वमा सक्षम बनाउने लक्ष्यका साथ राडो नेपाल मकवानपुरले बाल संरक्षणको अभियान सशक्त पार्दै ल्याएको हो । सबै प्रकारका हिंसा तथा बालविवाह, लैड्डिक हिंसा, परम्परागत हानीकारक अभ्यासहरूबाट आफ्नो संरक्षण आफैं गर्न बालिका तथा युवा महिलाहरू सुसूचित र सक्षम बनाउने लक्ष्यका साथ बाल संरक्षण कार्यक्रम सुरु गरिएको कार्यक्रम संयोजक दिपेन्द्र पाठकले बताए ।

विद्यालयमा आधारित बालबालिकाको सशक्तिकरणका लागि स्टिक्स एण्ड स्टोन्स तालिम निर्देशिका कार्यान्वयन गरेर हाल जिल्लाको ५८ वटा विद्यालयको कक्षा ६ देखि १० सम्मका झण्डै १८ सय विद्यार्थीलाइ सक्षम बनाउने अभियान जारी छ । विद्यालयका शिक्षकहरूका लागि स्टिक्स एण्ड स्टोन्स प्रशिक्षक प्रशिक्षण तथा पुनरावलोकन बैठकपछि हाल नियमित कक्षा सञ्चालन भइरहेको कार्यक्रम संयोजक पाठकले बताए । 

'विद्यालयका बालबालिकाहरूमाझ स्टिक्स र स्टोन्स कार्यक्रम सत्र सञ्चालन सँगसँगै किशोरी क्लबको सशक्तिकरण, संलग्नता र परिचालन गरी सबै प्रकारका हिंसाहरूको रोकथाम तथा अन्त्यमा लागि परेका छौं' पाठकले भने । राडो नेपालले प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा जोखिममा परेका तथा लैड्डिक हिंसामा परेका महिला तथा बालबालिकाहरूलाई तत्काल आवश्यक सहयोग समेत गर्दै आएका छ । साथै लैड्डिक रुपान्तरणमुखी बाल संरक्षण प्रणालीका लागि संयन्त्र, संरचना सम्बन्धित नीतिगत व्यवस्था, कार्यक्रम, बजेट विनियोजन कार्य योजनाहरूको व्यवस्थामा सरकारसँग समन्वय र सहकार्य समेत गर्दै आएको छ ।

स्थानीय तहसँग राडो नेपाल, मकवानपुरगढी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, महिला बालबालिका शाखा प्रमुखलगायतको उपस्थितिमा लक्षित वर्गको अवस्थाबारे जानकारी गराउँदै राडो नेपालका अध्यक्ष डा.कृष्णप्रसाद धिताल ।

बालबालिका विशेषगरी किशोरी तथा युवा महिलाहरूको क्षमता विकास, हिंसाबाट आफैं संरक्षित हुने र रिपोटिङ गर्ने बारे सिप र ज्ञान सिक्ने अवसर पाएको विद्यार्थी प्रतिक्षा कार्कीले बताइन् । 'हामीले आफ्नो क्षमता विकाससँगै साथी र आफूभन्दा कम उमेरका बहिनीहरूको कुरा सुन्ने र समस्या भएमा सवालको रुपमा उठाउन सक्ने भएका छौं' कार्कीले भनिन् । संस्थाले सकारात्मक अभिभावकत्वको लागि अभिभावकहरूलाई समेत तालिम दिंदै आएको छ । 'अभिभावकको सोच सकारात्मक भएमात्रै बालबालिकाको राम्रो विकास हुनेछ भन्ने हाम्रो बुझाइ हो' कार्यक्रम संयोजक पाठकले भने । राडो नेपालले पालिकाबाट बालसंरक्षण प्रणालीको विकास गर्ने काममा भएका र कामको निगरानी र बाँकी कामहरूमा सहकार्य र समन्वय गर्दै आएको छ । 

यसअन्तर्गत सरकारी सिस्टमलाई बलियो र चलायमान बनाउने, सहकार्य गर्ने, क्षमता विकास गर्ने, पालिकाहरूमा बाल अधिकार समिति गठन, पुनर्गठन, क्षमता विकासमा स्थानीय सरकारसंग समन्वय गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ । बालसंरक्षण प्रणालीको सुदृढीकरणको लागी बालबालिकाको सवालमा संवेदनशीन बनाउन समन्वय, समिति गठन र बालसवाल उठाउने काम वडातहसम्म गर्दै आएको छ ।
 
पाठकका अनुसार हिंसाबाट संरक्षित हुँदै सहयोगी भावनाको विकास गर्ने, विद्यालयलाई मर्यादीत बनाउन तर्फ प्रेरित गर्ने, मानसिका रुपमा सवल बनाउन यो सेसनमा अतिरीक्त कोर्षको रुपमा पढाइ हुने गरेको छ । यसको लागि संस्थाले सबै विद्यालयहरूमा पाठ्यक्रम नै दिएको छ, जुन हप्ताको १ दिन पठाइ हुन्छ । यस कक्षमा सहभागी भएपछि बालिबालिका धेरै सचेत भएको पाइएको उनले बताए । मकवानपुरको जनता माविको विद्यार्थीमाथि भएको यौन दुव्र्यवहारको घटना यही कक्षमा सहभागीबाट बाहिरीएको थियो । 'यो कक्षामा ६ देखि १० का विद्यार्थीहरू सहभागी हुन्छन्, तर उनीहरूले  विद्यालयको बालक्लब मार्फत साना कक्षाका नानीहरूको कुरा सुनिदिन्छन् । जनता माविको घटना यसैको उदाहरण यही हो' पाठकले भने ।

जिसस मकवानपुरको प्रमुखको रूपमा पदभार ग्रहण गर्दै रोल मोडेल रेजिना ढकाल ।

यसैगरी संस्थाले सामाजिक कुरीति र विसंगतिविरुद्ध बाल बिवाह, महिनावरी विभेदविरुद्ध सचेताका कार्यक्रम गर्दै आएको छ । यस्ता मान्यताविरुद्ध धर्मगुरुहरूलाई सचेतना कार्यक्रम गर्छौँ, बालसंरक्षण नीति, कानुन बनाउन पालिकाहरूसँग सहकार्य गर्छौं, हेटौंडा उपमहानगरपालिकाको नीति बनाउँदैछौ' पाठकले भने । गुणस्तरीय सेवा प्रवाहमा संस्थाले समन्वयकारी भूमिका खेल्दै आएको कार्यक्रम अधिकृत राजेन्द्र लामाले बताए । आर्थिक रुपमा विपन्न भएकै कारण विभिन्न प्रकारको जोखिममा पर्ने संभावना उच्च रहेका युवा किशोरीहरूलाई आपतकालीन आर्थिक सहयोग पनि संस्थाले गर्दै आएको छ । 

गाउँगाउँमा साथी शिक्षा प्रभावकारी बन्दै 

राडो नेपालले किशोरकिशोरी तथा  अभिभावकहरूलाई प्रदान गर्दै आएको सचेतना तथा सिकाइका शिक्षाहरू साथी समूहमा प्रभावकारी बन्दै आएका छ । 
समाजमा व्याप्त सबै प्रकारका हिंसाविरुद्ध, गलत संस्कारको रुपमा रहेको  बालबिवाह महिनावारी विभेद जस्ता परम्परागत हानीकारक अभ्यासहरूबाट  बच्न साथी शिक्षा प्रभावकारी बन्दै आएको संस्थाका कार्यक्रम अधिकृत सुनिल चिमरियाले बताए । 

संस्थाले विशेषगरी बालिका तथा युवा महिलाहरू सुसूचित र सक्षम बनाउने उदेश्यका साथ सुरु गरेको बाल संरक्षण कार्यक्रमको प्रभावकारीता ग्रामिण भेगमा राम्रो देखिएको चिमरियाले बताए । बालबालिकालाई भेदभावविना, त्रास तथा कुनै पनि प्रकारका हिंसा विशेषगरी बालविवाह विना जोखिम र बहिष्कारमा परेका बालिकाहरूले उचित महत्व र हेरचाह प्रदान गर्न कार्यक्रम प्रभावकारी देखिएको मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामाले बताए । राडो नेपालले स्टीक एण्ड स्टोन क्लास, सकारात्मक अभिभावक कक्षाबाट साथी शिक्षा अभियान चलाएको छ र सकारात्मक अभिभावक कक्षमा जिल्लामा २१ वटा समूह छन् ।

'सकारत्मक र सचेत अभिभावकबाट बालसंरक्षण पनि राम्रो हुदै भविष्यमा कुसल नेतृत्व जन्माउने हाम्रो लक्ष्य हो' राडो नेपालका अध्यक्ष कृष्ण धितालले भने । इन्टरनेतको दुरुपयोगले अहिले सबैलाई पिरोलेको छ, सही तरिकाले इन्टरनेटमा के के खोज्ने, भन्नेबारे बुझाउन पनि साथी शिक्षा प्रभावकारी भएको छ । युवा किशोर/किशोरीहरूले यसबारे ट्याबलेटको भिडियोबाट सिक्ने र सिकाउने गर्दछन् । राडो नेपालले बाल संरक्षण कार्यक्रमा मकवानपुर जिल्लाको सबै स्थानीय तहमा र विशेषगरी बागमती, मकवानपुरगढी, मनहरी, कैलाश गाउँपालिका र हेटौंडा  उपाहानगरपालिकाको १२, १३, १४, १५ वडामा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बालिकालाई, अवसर प्रदान गरेर नेतृत्वदायी भूमिका निर्वाहा गर्न सिकाउने कार्यक्रमअन्तर्गत संस्थाले रोल मोडलको रुपमा १५८ जना किशोरीहरू तयार गरेको छ । रोल मोडलको रुपमा प्रस्तुत हुँदा धेरै जानकारीहरू लिन सफल भएको मकवानपुर मनहरीकी रेजिना ढकालले बताइन् ।

संस्था परिचय

 

डा. कृष्णप्रसाद धिताल अध्यक्ष, राडो नेपाल

ग्रामीण जागरण तथा विकास संगठन, नेपाल (RADO-Nepal) वि.सं. २०५१ सालमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विधिवत् दर्ता भई नाफा रहित, गैरराजनितिक सामाजिक संस्थाको रुपमा ग्रामीण समुदायको शसक्तिकरण गर्ने अभिप्रायका साथ स्थापना भएको हो । ग्रामीण विकासका लागि सामाजिक सेवा, आर्थिक समुन्नतिका लागि कृषिको आधुनिकिकरण, शिक्षा, स्वास्थ्य, सरसफाइ, पुर्वाधार निर्माणलगायतका कार्यहरू गर्ने लक्ष्यका साथ स्थापित यस संस्थाले समाज कल्याण परिषद तथा गैर सरकारी संस्था महासंघसंगको आवद्धता लिएको अध्यक्ष डा. कृष्ण प्रसाद धितालले बताए ।

संस्थाले स्थापना कालदेनि नै समुदायका हितमा विभिन्न रचनात्मक क्रियाकलाप तथा परियोजना संचालन सुरु गरेको अध्यक्ष डा. धितालले बताए । यस क्रममा सामुदायिक खानेपानी तथा सरसफाई, विद्यालयको भौतिक सुविधा सुधार तथा विस्तार, सामुदायिक झोलुड्डे पुलहरूको निर्माण गर्दै विभिन्न संस्थाहरूको सहयोग र सहकार्यमा विद्यालयहरूमा बालमैत्री सिकाई वातावरणको प्रर्बद्धनमा हातेमालो गर्दै आइरहेको छ ।

वि.सं २०७२ को महाभुकम्प पश्चात पीडितका लागि पुर्नवास, खानेपानी तथा सरसफाई, जिवीकोपार्जन, विपद् जोखिमन्यूनीकरण लगायतका कार्यक्रम समेत सञ्चालन गरेको धितालले बताए । 

संस्थाले समय परिस्थिति अनुसार आवश्यक नीतिनियम बनाउदै र अद्यावधिक गर्दै सामुदायिक सेवाका कामहरूमा अग्रसर रहेको उनले बताए । यस संस्थाले संघीय नेपालको विकास साझेदारका रुपमा स्थानीय तह तथा समुदायहरूसँग मिलेर विकास र समृद्धिका कामगर्ने अठोट लिएको धितालको दाबी छ ।

संस्थाको निर्वाचित कार्य समितिमा सामूहिक दायित्वका लागि व्यवस्थापन, प्रशासनको एउटै गति कायम गरी समन्वय र संस्थागत निर्णय प्रक्रियाका आधारमा कार्यक्रमहरू संचालन गरिएका हुँदा समयसापेक्ष कार्य वातावरण बन्नुका साथै समानुपातिक, समावेशी तथा अधिकारमा आधारित सामाजिक विकासमा लाग्न सहयोग भएको उनले बताए । 'समाजका सबै लिंग, वर्ग तथा जातजातिलाई अवसर दिई संस्थालाई एक समावेशी संस्थाको रुपमानिर्माण गरिएको छ' अध्यक्ष धितालले भने 'सामाजिक काममा पनि हामी यस्तै सामावेशीताको सम्मान होस भन्ने हेतुले लागिपरेका छौं ।' 

संस्थाले कार्यक्रम संचालन गर्ने सिलसिलामा प्लान ईन्टरनेशनल, युनिसेफ, रैले ईन्टरनेशनल, हेल्भेटासलगायतका अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरू,संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार आदिसँग सहकार्यमा काम गरेको र यसले लक्षित समुदायको जीवनस्तरमा दीगो सुधार ल्याउन योगदान पुगेको धितालले बताए । 

संस्थागत उपलब्धिहरू तथा सिकाइहरू
यस संस्थाको सहयोग तथा समन्वयमा १८० साना तथा मझौला खानेपानी योजनाबाट ८१८८ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । महिला शसक्तिकरणका क्रियाकलापबाट झण्डै ५१०० महिला तथा युवा स्वआर्जनमा लागेका छन् ।

संस्थालाई सहयोग गर्ने साझेदार निकायहरूमा वृद्धि भएको, संस्थाका कर्मचारी र कार्यसमितिका व्यक्तिहरूको क्षमता विकास र संस्थाले भुकम्प प्रभावित नीजि आवास निर्माण अन्तरगत ६०० घर निर्माण सहयोग गरेको घितालले बताए । यसैगरी मकवानपुर जिल्लालाई खुला दिसामुक्त बनाउन सरोकारवालाहरूसँग समन्वय गरी विगतमा नेतृत्व गर्दै पूर्णसरसफाईको अभियानमा सशक्त रुपमा परिचालित भएको थियो । 

किशोरीहरूलाई आपतकालीन आर्थिक सहयोग गरिँदै ।

स्थानीय सरकारका जनप्रतिनिधिहरूको क्षमता विकासमा योगदान तथा सहभागीमुलक योजना तर्जुमा प्रक्रिया सम्बन्धी सहजीकरण गर्दै आएको छ । स्थानीयदेखि राष्ट्रियस्तर सम्मखानेपानी सरसफाई र स्वच्छता प्रवद्र्धनमा राजनितिक ईच्छा शक्तिसहित बहुसरोकारवालाको योगदानकालागि सहजीकरण गर्दै आएको छ ।

बालमैत्री स्थानीयतह घोषणाका लागि सहजीकरण तथा नेतृत्व गर्दै आएको छ । मकवानपुर जिल्ला विपदव्यवस्थापन समितिको विपदपुर्वतयारी प्रतिकार्य योजना निर्माणमा सहजीकरण गरेको छ ।  स्पोन्स र सीप कार्यक्रममार्फत् झण्डै ७५०० भन्दा बढी बालबालिकालाई स्टेशनरी सामान, औषधि सहयोग तथा बालअधिकार सम्बन्धी सचेतना साथै सामुदायिक विकासका गतिविधिहरू प्रभावकारी रुपमा कार्यान्वयन गरेको छ ।

समुदायको पहुँच वृद्धि तथा बालबालिकालाई विद्यालय सम्मपुग्न सहज गराउने ६५ वटा झोलुंगे पुलनिर्माणमा सहजीकरण तथा योगदान गरेको छ । १० वटा स्वास्थ्य संस्थालाई वास सेवाहरू तथा शौचालय र हातधुने स्टेशन बनाउन सहयोग र स्कुलका विद्यार्थीहरूलाई संक्रमणकालीन सिकाइका लागि २० वटा ठाउँमा सहयोग गरेको छ । 

कोभिड संक्रमणविरुद्ध वृहत सचेतना, तथा स्वास्थ्य सामग्रीहरू सहयोग गरेको थियो । शिक्षा तथा सामाजिक जागरणमा आन्तरीक सशक्तिकरणको लागि संस्थाले निरन्तर यी क्षेत्रहरूमा काम गर्ने अध्यक्ष डा. धितालले बताए ।
 


Author

थप समाचार
x