समाज

देशभर चिसो बढ्यो

उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाक्यो, उडानहरू अवरुद्ध

इकागज |
पुस ७, २०७९ बिहीबार १०:१३ बजे

फाइल तस्बिर

काठमाडौँ - काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा चिसो बढेको छ ।  आज बिहीबार काठमाडौंसहित देशका पहाडी तथा तराईका भूभागमा हुस्सु, कुहिरोले ढाकेको छ । हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम खराब भएको मौसमविद्हरूले बताएका छन् ।

उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ । जसका कारण उडानहरू अवरुद्ध भएका छन् । उडानहरू अवरुद्ध बन्दा यात्रा गर्नेहरूलाई भने असहज भएको छ । 


हुस्सु र कुहिरोका कारण काठमाडौंमा पनि जाडो बढेको छ । अहिले प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु/कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ ।

आगामी २४ घण्टामा  तराईका केही भू–भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने  र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले विभागको आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।


Author

थप समाचार
x