स्थानीयवासी अमेरिकातिर, सुनसान बन्दै गाउँ
चौतारा- नेपाल चीनको सीमामा पर्ने सिन्धुपाल्चोकका अधिकांश बासिन्दा गाउँ छाडेर अमेरिका गएपछि गाउँ सुनसान बनेका छन् । भोटेकोसी गाउँपालिका वडा नं २, ३ र ४ का बासिन्दा अमेरिका गएका हुन् । बोक्चेन, छेताङ, टासीथाङ, यार्मासिङ, नारायणथान, फुल्पिङकट्टी र सेलाङकट्टीका बासिन्दा अमेरिका गएको वडा नं ३ का वडाअध्यक्ष निमासोना शेर्पाले बताए ।
उनले भने, “विसं २०७२ को भूकम्पले घरगोठ भत्किए, व्यापार गरेर जीवन धान्ने तातोपानी नाका बन्द भयो, नाकाबन्दीको असरले सीमावासी तितरवितर भए, सीमा गाउँमा खेतीयोग्य जमिन छैन, उनीहरूको प्रमुख पेसा भनेको तातोपानी लिपिङमा झोले पोके व्यापार हो, बोक्चेन र छेताङमा एक सय २० घर छन्, घरैपिच्छे मानिस अमेरिका पुगेका छन्, भूकम्पअघि सीमाका केही मानिस मात्रै अमेरिका गएका थिए, उनीहरू धेरैजसो रोजगारी र केही लामाविद्या पढ्न गएका हुन् ।”
गोरेटो बाटोसमेत नभएको बोक्चेन र छेताङमा स्थानीय सरकारको पहिलो पाँच वर्षे कार्यकालमा एकजना जनप्रतिनिधि पनि पुगेनन् । बोक्चे निवासी वडाध्यक्ष शेर्पा पहिला गाउँघर र चौँरीगोठ पुग्ने राम्रो गोरेटो बाटो तयार पार्न लागेका छन् । नाका बन्द भएयता यहाँका बासिनदाले पशुपालन सुरु गरेका छन् । यतिले जीवन निर्वाह नहुने भएकाले विदेसिन बाध्य भएको उनीहरू बताउँछन् ।
वडाध्यक्ष शेर्पाका अनुसार सीमा क्षेत्रका झन्डै तीन सय मानिस अमेरिका पुगेका छन् । त्यतिकै सङ्ख्यामा खाडीमूलुक पुगेका छन् । अहिले बोक्चेन, छेताङ, यार्मासिङ र टाँसिथाङ गाउँका घरैपिच्छे एकजना अमेरिकामा रहेको बताइएको छ । अमेरिका बस्नेले राम्रो आम्दानी गर्ने भएकाले परिवारका धेरैजसो काठमाडौँमा बस्छन् ।
भूकम्पअघि अमेरिका गएका दाजुभाइ र आफन्तले नाकाबन्दीपछि धेरैलाई अमेरिकामा डाकेर रोजगारी दिलाएका छन् । दाजुभाउजू र भतिजासहित परिवारका चार सदस्य अमेरिकामा रहेको जानकारी दिँदै टाँसिथाङका ग्याल्साङ शेर्पाले सीमा क्षेत्रका घरैपिच्छे मानिस अमेरिकामा रहेको बताए ।
“नाकाबन्दी हुनुभन्दा पहिलादेखि नै सीमाका शेर्पा समुदाय धेरैजसो अमेरिकामा छन्”, उनले भने, “भूकम्पपछि अमेरिकामा नभइ खाडी मुलुकमा जाने चाँहि बढेका छन् ।” व्यापार सुकेको र खेती किसानी पनि राम्रो नभएकाले सीमाका बासिन्दा विदेशिएको उनी सुनाउँछन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया