समाज

ग्यासलाई कसरी धेरै समय टिकाउने ? यी हुन् १५ उपाय

इकागज |
पुस १६, २०७९ शनिबार १०:३६ बजे

हाम्रो भान्सामा सबैभन्दा बढी प्रयोग हुने चिज हो, ग्यास । ग्यास कसैको भान्सामा धेरै समय टिक्छ, कसैको थोरै । खाना बनाउँदा हामीमध्ये धेरैजना अनावश्यक ग्यास खर्च गरिरहेका हुन्छौँ । ग्यास चाँडै सक्किँदा धेरैलाई तनाव हुन्छ । यसले खर्च पनि उत्तिकै बढाउँछ । उसो भए कसरी खाना बनाउने ग्यासलाई धेरै समय टिकाउने त ?

ग्यास बचाउने १५ उपाय 
- खाना पकाउनुअघि आवश्यक सबै सामग्री जम्मा गर्नुपर्छ । ग्यास बलेपछि के पकाउने भनेर खोज्न थालियो भने ग्यास खेर जान्छ । 
- खानेकुरा पकाउनुअघि भाँडाकुँडालाई राम्रोसित पुछ्नुपर्छ । भाँडामा पानी लागेको भए त्यसलाई सुकाउन लाग्ने अतिरिक्त ग्यासको बचत हुन्छ । 
- नछोपी खाना पकाउँदा ग्यास तीन गुणा बढी खर्च हुन्छ । त्यसैले कराही वा फ्राइप्यानलगायत भाँडाकुँडामा खानेकुरा बनाउँदा छोपेर पकाउनुपर्छ ।
- कराही वा फ्राइप्यानको साटो प्रेसर कुकरमा पकाउँदा खाना चाँडो पाक्छ । ग्यास कम लाग्छ ।
- फ्रिजमा रहेका तरकारीहरू अगाडि नै बाहिर निकालेर राख्नुपर्छ । तरकारी धेरै चिसो भयो भने तात्न समय लाग्छ र ग्यास धेरै खर्च हुन्छ । 
- फ्रिज भएमा ग्यासका धेरै नै बचत हुन्छ । एकैपटक धेरै परिमाणमा तरकारी पकाएर फ्रिजमा राख्न सकिन्छ । 
- कुकरमा भात पकाउने बेलामै आलु वा अण्डा हालेर उसिन्न पनि सकिन्छ । यसले पनि ग्यासको बचत गर्छ ।
- पकाउन समय लाग्ने दाल वा गेडागुडीलाई पहिले नै पानीमा भिजाएर राख्यो भने छिटो पाक्छ र ग्यास कम लाग्छ । 
- खाना पकाउँदा सही आकारको भाँडो प्रयोग गर्नुपर्छ । सानो भाँडो प्रयोग गर्दा ग्यास बाहिर निस्कन्छ । ठूलो भाँडो प्रयोग गर्दा तातिन समय लाग्छ र ग्यास खर्च हुन्छ।
- दाल पकाउँदा पहिल्यै धेरै पानी हाल्नु हुँदैन । पानी धेरै हाल्दा खानेकुरा पाक्न समय लाग्छ । पाकिसकेपछि आवश्यक परिमाणमा पानी तताएर मिसाउँदा ग्यास बचत हुन्छ । 
- पटक–पटक पानी तताउँदा वा चिया पकाउँदा ग्यास धेरै खपत हुन्छ । त्यसैले एकपटक धेरै पानी तताएर थर्मसमा राख्न सकिन्छ ।
- ग्यासलाई मिडियम वा स्लो मोडमा राखेर पकाउनु ठीक हुन्छ । ग्यास ठूलो बनाएर पकाउँदा खाना डढ्छ ।  ठूलो ग्यास बाल्दैमा चाँडो पाक्ने होइन । सानो ग्यासमा पकाएका खानेकुरा राम्रोसित पाक्ने र स्वाद पनि मिठो हुन्छ ।
- प्रेसर कुकरमा खाना बनाउँदा विद्युतीय उपरकणमा उमालेको पानी हालेर पकाउँदा छिटो पनि पाक्छ र ग्यासको पनि बचत हुन्छ ।
- खाना पकाइसकेपछि रेगुलेटर बन्द गर्नुपर्छ । यसले ग्यास लिक भएर खेर जान दिँदैन । 
- समय–समयमा रेगुलेटर, पाइपलगायत ग्यास चुल्होका सामानको जाँच गर्नुपर्छ । यी सामान पुराना भए अथवा बिग्रिए भने ग्यास लिक हुन सक्छ । 



Author

थप समाचार
x