एक वर्षमा मानव अधिकार उल्लङ्घनका ७० घटना
मकवानपुर । घटना १
भारत मध्य प्रदेश जिल्ला भुपालथाना गोबिन्दपुरा घर भई मकवानपुर जिल्ला बकैया गाउँपालिका ५ तिनतलेमा बस्ने २९ वर्षीया जिया उदासी हत्याको आरोपमा प्रहरीले ०७९ वैशाख १२ गते ३० वर्षीय पति गगन कुमार सोनीलाई गिरफ्तार गर्यो ।
आरोपितले ०७९ वैशाख ११ गते तिनतलेस्थित लालबहादुर स्याङ्बोको घरमा डेरामा पत्नीको घाँटी थिची हत्या गरेको भनी पीडितपक्षले वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । शवको पोष्टमार्टम साेही दिन हेटौंडा अस्पतालमा भयो । पोष्टमार्टमपछि शव परिवारले बुझी राप्ती किनारमा सद्गत गरे । पीडितपक्षको उजुरीका आधारमा प्रहरीले आरोपी पतिलाई गिरफ्तार गरी कर्तव्य ज्यान कसुरमा ०७९ वैशाख १६ गते मकवानपुर जिल्ला अदालतमा मुद्दा दर्ता गर्यो । जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले ०७९ जेठ १४ गते आरोपिलाई पुर्पक्ष थुनामा पठायो ।
घटना २
लैङ्गिक तथा अल्पसङ्ख्यक समुदाय २७ वर्षीय तेस्रोलिङ्गी कल्पु कुमारी गुरुङलाई ज्यान मार्ने उद्धेश्यले घाइते बनाएको आरोपमा हेटौंडा १२ का ३२ वर्षीय सुनिल कुमार साहलाई प्रहरीले ०७९ सान ९ गते गिरफ्तार गयो ।
आरोपित साहले साउन ७ गते हेटौंडा ९ पशुपतिनगर नजिक पीडितलाई ज्यान मार्ने नियतराखी ढुङ्गा र दाउराको चिर्पटले प्रहार गरी घाइते बनाएको भनी पीडितले साउन ८ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिइन् । घाइतेको हेटौंडा अस्पतालमा उपचार गरी साउन ९ गते डिस्चार्ज भयो । पीडितको उजुरीका आधारमा प्रहरीले आरोपीलाई गिरफ्तार गरी ज्यान मार्ने उद्योग कसुरमा साउन १२ गते मकवानपुर जिल्ला अदालतमा मुद्दा दर्ता गर्यो । जिल्ला न्यायाधीश मनकुमारी जिएमको इजलासले भदौ ५ गते आरोपितबाट धरौटी माग गरेको छ ।
यी दुई प्रतिनिधि घटना मात्रै हुन् । सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अर्थात २०७८ पुसदेखि हालसम्मको अवधिमा मकवानपुर जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७० वटा घटना भएका छन् ।
जसमा राज्यपक्षबाट ७ जना र अन्यपक्षबाट ६६ जना मानिस पीडित भएका अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक वाग्मती प्रदेश कार्यालयले जनाएको छ ।
जसमध्ये ५० जना महिला, २२ जना पुरुष र १ जना लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायको व्यक्ति पीडित भएको इन्सेकले जनाएको छ । बाल अधिकारका घटनामा २५ जना बालिका पीडित भएकोमा २१ जना बलात्कारमा परेका छन् भने ३ जना यौन दुर्व्यवहारका घटना र १ नवजात शिशु हत्याको घटनामा भएको थियो ।
जस अन्तर्गत २५ वटा घटनामा महिला अधिकारका हनन् भएको थियो । २५ जना महिला पीडित भएकोमा १० जना बलात्कारबाट, ४ जना बलात्कारको प्रयासबाट, ४ जना बहुबिबाह र १ जना बेचबिखनको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको छ ।
यस अवधिमा ८ वटा हत्याका घटना भएका छन् । जसमा ३ जना महिला र ५ पुरुष छन् । यस्तै १४ वटा हत्या प्रयासका घटनामा ३ महिला १० जना पुरुष र १ ज लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएको इन्सेकमा अभिलेख भएको छ ।
यस वर्ष परिवारजनबाट ४ जना बालिकासहित ५ वटा बलात्कार, १ यौन दुर्व्यवहार, १ बलात्कार प्रयास र १ नवजात शिशु छोरासहित ६ ओटा हत्याको घटना इन्सेकमा अभिलेख भएको इन्सेक जिल्ला प्रतिनिधि पुष्प अधिकारीले बताए ।
इन्सेकको अभिलेखालयमा गत वर्ष सन् २०२१ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७८ वटा घटनामा अन्य पक्षबाट ७८ जना मानिस पीडित भएका थिए । जसमध्ये ७३ जना महिला र ५ जना पुरुष पीडित भएका थिए । बाल अधिकारका घटनामा ३४ जना बालिकामा २८ जना बलात्कार, ५ जना यौन दुर्व्यवहार र १ जना बेचबिखनको प्रयासबाट पीडित भएका थिए । उक्त समयमा महिला अधिकारका घटनामा ३३ जना पीडित भएकोमा २१ जना बलात्कार, ५ जना बलात्कार प्रयास, १ जना यौन दुर्व्यवहार र ६ जना बहुबिवाहको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको प्रदेश कार्यालयका प्रमुख गणेश भण्डारीले बताए ।
त्यस अवधिमा १० वटा हत्याका घटना भएका थिए । जसमा ५ जना महिला र ४ पुरुष थिए एक कुटपिटको घटना इन्सेकमा अभिलेख भएको छ ।
यसैगरी सन् २०२० मा मकवानपुरमा ६२ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५० जना महिला, १२ जना पुरुष र एक लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएको तथ्याङ्क छ । गतवर्षको तथ्याङ्कसँग यस वर्षको घटना तुलना गर्दा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा खासै अन्तर नभएको देखिन्छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशनका लागि आयोजना गरिएको पूर्व समीक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया