मदिराले लट्ठ प्रहरीले गालीगलौज गर्दै तोडफोड गरेपछि...
जनकपुरधाम - जनकपुरधाममा एक जना प्रहरी हवल्दारले मदिराको नशामा गालीगलौज र तोडफोड गरेका छन् । जनकपुरधामको भ्रमरपुरा चोकस्थित एक ग्यारेजमा हवल्दार विपिनकुमार साहले मदिराको नशामा गालीगलौज गर्दै तोडफोड गरेका हुन् ।
उनले गालीगलौज र तोडफोड गरेको भिडिओसमेत सार्वजनिक भएको छ । ग्यारेजमा मदिरा खाएर एक व्यक्तिलाई अश्लील गाली गर्नुका साथै थप्पडले हिर्काएको सो भिडियोमा समेत देख्न सकिन्छ ।
हवल्दार साहको दरबन्दी जिल्ला प्रहरी कार्यालय सिरहामा रहेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा काजमा खटाइएको हो ।
हवल्दार साह आवेशमा आएर मुखबाट गाली निस्किएको स्वीकार गरे । भिडियोमा २ लाख ७ हजार रुपैयाँको कुनै विवाद समेत रहेको सुन्न सकिन्छ । यद्यपि हवल्दार साहले त्यस्तो कुनै विषय नरहेको दाबी गरे । उनले ग्यारेजमा गत वर्ष वेल्डिङ्ग गर्ने क्रममा एक गाडी जलेको र सोको क्षतिपूर्तिका लागि विवाद दाबी गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले आफूलाई यस विषयमा जानकारी रहेको र छिट्टै यस विषयमा सत्य तथ्य बुझेर कारबाही प्रकृया अगाडि बढाउने बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया