‘समावेशी अक्षर र अनुसन्धान’ ब्रेल पठन एवं लेखन प्रतियोगिता सम्पन्न
काठमाडौँ- आँखा नदेख्नेहरूले पढ्ने लिपि ब्रेल लिपिका आविष्कारक लुइ ब्रेल (१८०९ जनवरी ४ र १८५२ जनवरी ६) को २१४ औँ जयन्तीको अवसर पारेर यशुदा (त्रिवेणी ग्रुप) को सहयोगमा सर्वोदय – ‘समावेशी अक्षर र अनुसन्धान’ ले ब्रेल पठन एवं लेखन प्रतियोगिता सम्पन्न गरेको छ।
पौष १६ गते शनिबारका दिन नमुना मच्छिन्द्र माध्यमिक लगनखेलमा सम्पन्न कार्यक्रममा कक्षा २ देखि ५ लाई एक समूह र कक्षा ६ देखि १२ लाई अर्को समूहमा राखी प्रतियोगिता सञ्चालन गरिएको थियो।
सानाहरूको समूहतर्फ संसार वाग्ले, किरण थापा मगर र निहित लामा क्रमशः प्रथम, द्वितीय र तृतीय भए। त्यसै गरी मोहित लामा र सुरज तामाङले सान्त्वना स्थान हासिल गरे। ठूलाहरूको समूहतर्फ भने सन्देश स्याङ्बो , सृष्टि सुबेदी र युवराज दाहालले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे।
प्रतियोगिताहरूलाई अङ्ग्रेजी, नेपाली र गणितलाई समेत समेटेर ब्रेल लिपिमा विभिन्न कुराहरू लेखाइएको र पढाइएको कार्यक्रम सञ्चालिका एवं सर्वोदयकी सदस्य रोजिना पोख्रेलले बताइन्।
प्रविधिको प्रयोग सङ्गै दृष्टिविहीनहरूले आफ्नो मातृ लिपि ब्रेल लिपिलाई भुल्न नहुने र यस्ता कार्यक्रमहरूले ब्रेल लिपिको प्रवर्धन गर्नमा थप टेवा पुग्ने कार्यक्रममा आतिथ्यता समेत गरेका उज्ज्वल नक्षत्र समाजका अध्यक्ष वासुदेव अधिकारीले बताए। यसका साथै उनले विद्यार्थीहरूलाई अझै मेहेनत गरेर अघि बढ्नका लागि समेत हौसला दिए ।
यी र यस्ता कार्यक्रमहरू गर्नमा सधैँ सहकार्य गर्ने र दूरदराजका अपाङ्गता भएका व्यक्तिहरूका प्रतिभा समेत उजागर गर्न र उनीहरूको शिक्षामा पहुँच अभिवृद्धि गर्न सधैँ तयार रहेको अध्यक्ष सौरभ तिवारीको भनाइ थियो। प्रतियोगिताको निर्णायकको रूपमा शिक्षीका बेदमाया ढकाल र दृष्टिबिहिन सन्दीप थापा थिए।
प्रतियोगितामा जोड इनिसिएटिभ्स र उज्ज्वल नक्षत्र समाजको समेत सहकार्य थियो।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया